ब्राजिल ओलम्पिक फुटबलको फाइनलमा

टोकियो । टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ साविकको स्वर्ण पदक विजेता ब्राजिल यू–२३ ले फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको सेमिफाइनलमा मेक्सिको यू–२३ लाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण पदकको भिडन्तमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरुवाती दुई प्रहारमा गोल गर्न सकेन ।

ब्राजिलका लागि कप्तान ड्यानी आल्भेसले पहिलो प्रहार नै गोलमा परिणत गरेका थिए । त्यसपछि मेक्सिकोका एडुआर्डो अगिएरको प्रहार गोलरक्षक अबेर्दार सान्तोसले विफल पारे । ब्राजिलका ग्याब्रिएल मार्टिनेलीले दोस्रो प्रहारमा गोल गर्दा जोहान भास्केजको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

त्यसपछि ब्रुनो गुइमारेसले गोल गर्दै ब्राजिललाई जितको संघारमा पुर्याए । मेक्सिकोका कार्लोस रोड्रीग्वेजको प्रहार गोल भएपनि त्यसपछि रेनिएरले गोल गर्दै ब्राजिललाई फाइनलसम्म पुर्याए । ब्राजिल अघिल्लो संस्करणमा घरेलु मैदानमा जितेको पदक रक्षा गर्ने धुनमा छ ।

प्रतिक्रिया