प्रशिक्षक अल्मुताइरीसंगको विवाद सकियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच भेट भएको छ । एकअर्कालाई आरोप लगाउँदै छानविनको माग गरी एन्फामा निवेदन दिएका नेम्वाङ र मुताइरीबीच मंगलबार भेट भएको हो । साउन १० गते अल्मुताइरीले उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिने अवस्था आएको भन्दै सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेका थिए । तर उनले आधिकारिक राजीनामा दिएका छैनन् । उपाध्यक्ष नेम्वाङले आफूलाई झुटो आरोप लगाएको भन्दै प्रशिक्षक विरुद्ध छानविन हुनुपर्ने माग राखेका थिए ।

त्यसपछि एन्फाको कार्यसमितिको आकस्मिक बैठकले उक्त विषयमा छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले छानविनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा निर्देशन दिएको छ । राखेप कार्यकारी बोर्डका सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्मा सात सदस्यीय छानविन समिति गठन भएको छ । त्यसमा राखेपका सदस्यहरु रेनु श्रेष्ठ सुवर्ण केसरी श्रेष्ठ र चन्द्रवन्दना राई, तालिम तथा प्रशिक्षक विभाग प्रमुख अर्जुनबहादुर विक, संघ–संस्था शाखाका सरोज पोखरेल र कानून शाखाका नारायण अर्याल छन् ।

एन्फाले यस विषयमा आफैं छानविन गर्न नसकेर बाहिर पठाएपछि दुई पक्षका व्यक्तिहरु आफैं भेट गरेका हुन् । दुवै पक्षबीच भेटघाट भएको र एन्फाले यस विषयलाई सुल्झाउन नसकेको विषयमा कुरा भएको बताइएको छ । यस विषयमा थप जानकारी भने बाहिर आएको छैन ।

प्रतिक्रिया