पारसको सन्न्यास आश्चर्यजनक : क्यान

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको निर्णय नेपाल क्रिकेट संघ (क्यान) ले आश्चर्यजनक रहेको बताएको छ । क्यानले नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारसले आफूसँग कुनैपनि सल्लाह विना एक्कासी सन्न्यास लिनु आश्चर्यजनक र दुःखद रहेको जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो समयमा पारसले सन्न्यास लिन नहुने बताउँछन् । ‘मलाई साढे सात बजे खेल जीवनबाट सन्न्यास लिए भन्ने पारसले मेलमार्फत जानकारी दिएका थिए । अरु सरसल्लाह केहि पनि भएको छैन’, चन्दले भने ।

‘यस्तो बेलामा सन्न्यास नलिन पर्ने हो । मैले पहिला पनि भनेको थिए । हामी निर्वाचन जितेर आएपछि आइसिसीले सशर्त फुकुवा गरेको अर्को दिननै पारसले कप्तानी छाडेका थिए । त्यो पनि ठिक थिएन’, चन्दले पारसको सन्यासबारे भने । त्यसैमा उनले थपे, ‘मंगलबारदेखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । केहि दिनदेखि टिम म्यानेजमेन्ट (व्यवस्थापन) र प्रशिक्षक डेभ ह्वाटमोरले पटक पटक बोलाउन खोज्दा पनि पारस सम्पर्कमा नआएको भन्ने कुरा मलाई थाहा थियो । कुनै व्यक्तिगत कारणले होला भन्ने मलाई लागेको थियो । तर एक्कासी सन्न्यासको घोषणा देखें ।’

‘अनौपचारिक रुपमा क्याम्प त केहि दिन अगाडिनै सुरु भइसकेको छ । सम्पर्कमा नआएपछि के कारण रहेछ भन्ने मनमा कौतुहलता थियो । तर सन्न्यास लिए । यसमा म खुसी छैन । नलिन पर्ने हो । यति ठूलो योगदान दिएको खेलाडीले सन्न्यास लिनुअघि बोर्डसँग एकपटक छलफल गर्नुपर्ने थियो,’ चन्दले भने, ‘क्यान नेपाली क्रिकेटको परिवार हो । केहि चित्त नबुझेको साना तिना कुरा हुन सक्छन् । त्यसमा छलफल गर्न सकिन्छ । हामी यस विषयमा त्यहिँ पनि एक पटक छलफल र सरसल्लाह गर्छौ । मलाई पारसको सन्न्यास आश्चर्य र दुःख लागेको छ ।’

चन्दले क्यानको एकमात्र लक्ष्य क्रिकेट विकासमा अघि बढ्ने रहेको पनि प्रष्ट पारे । ‘हामी एक वर्षमा १५ घरेलु प्रतियोगिता गर्ने योजना र तयारीमा लागेका छौं । विश्वकप खेल्ने लक्ष्य राखेर नै राम्रो प्रशिक्षक ल्याएका छौं । क्रिकेट विकास गर्ने हाम्रो पनि सोच, योजना र ईच्छाशक्ति छ । कोभिडको समयमा पनि राष्ट्रिय प्रतियोगिता गर्यौं । हामी सबैको सोच क्रिकेट विकास नै हो’, चन्दले भने ।

प्रतिक्रिया