संक्रमितसँगै अस्पतालमा बिरामी चाप बढ्न थाल्यो

चितवन । कोभिड– १९ का संक्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको संक्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो । यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिडका बिरामीको उपचार हुँदै आएको छ । निजी क्षेत्रको पुष्पाञ्जलि अस्पतालमा पनि कोभिडका बिरामीको उपचार भइरहेको छ । भरतपुर अस्पतालमा कोभिडका लागि छुट्याइएको श्यया भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्याइएका १ सय १० शय्यामा मंगलबार दिउँसोसम्म १ सय ६ बिरामी पुगेका छन्् । मंगलबार मात्रै नयाँ १३ बिरामी थपिएका र १२ जना निको भएर घर गएका छन् ।

अस्पतालको सघन उपचार कक्ष र दुई भेन्टिलेटरमा २२ बिरामी छन् भने एचडियुमा २३ र अन्यमा ६१ जना छन् । सरकारी अस्पताल भएकाले यहाँ बाँकी रहेका चार शय्या कुनै पनि बेला भरिनसक्ने हुँदा शय्या थप गर्न छलफल भइरहेको पौडेलको भनाइ थियो । सरकारले सरकारी अस्पतालमा उपचार निःशुल्क गर्दै आएकोे छ । चितवन मेडिकल कलेजमा कोभिडका बिरामी ७१ पुगेका छन् । त्यहाँको सघन उपचार कक्षमा ३४, भेन्टिलेटरमा १७ र एचडियुमा ३७ बिरामी छन् । अस्पतालका व्यवस्थापक पारस अधिकारीले क्रमशः बिरामी बढ्दै गएको बताए । अस्पतालले कोभिड बिरामीका लागि २ सय ४२ शय्या छुट्याएको थियो तर संक्रमित बढ्दै गएपछि अन्य बिरामीलाई शय्या छुट्याइएकामा पुनः कोभिडका बिरामी राख्न थालिएको हो ।

१९ बिरामी रहेकामा चार जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको कलेज अफ मेडिकल साइन्सेजले पनि दुई सय शय्या कोभिडका लागि छुट्याइएको जनाएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच र अन्य अस्पतालमा ११ बिरामी उपचाररत छन् भने भरतपुर महानगरपालिकाको आइसोलेसनमा सात र कालिका नगरपालिकाको आइसोलेसनमा ६ जना छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या घटेर १ हजार १४ मा झरेकामा मंगलबारसम्म आइपुग्दा बढेर २ हजार १ सय ९२ पुगेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोराज अधिकारीले सरकारी अस्पताल बिरामीले भरिएकाले जिल्लामा कोरोनाको खतरा बढ्न थालेको बताए । कोभिड– १९ का लक्षणसहितका समस्या र सहयोगका लागि आग्रह गर्दै ठूलो संख्यामा फोन र एसएमएस आउन थालेको उनले जानकारी दिए । ‘बेड खाली छ कि भनेर भौतारिएकाको आवाज फेरि बढ्यो । ज्वरो र खोकीले परिवार नै सोत्तर छ, परीक्षण कसरी गर्ने ? भन्ने प्रश्न बढी देखिएको छ’, अध्यक्ष अधिकारीले भने, ‘लक्षणसहित स्वाब परीक्षण गराउनेको भिड एक्कासि बढेको छ ।’ सामान्य लक्षणमा निमोनिया देखिने, छिट्टै अवस्था खस्किने, अस्पताल बसाइँ लामो हुने, कोभिड नेगेटिभ भएर पनि पहिल्यैको खराब असरले दीर्घ अक्सिजनमा भर पर्नुपर्ने र मृत्युसमेत हुने हुँदा ओपिडीमा बिरामीको चाप बढ्न थालेको उनको भनाइ थियो ।

निषेधाज्ञा सुरु हुँदा कोरोना आएजस्तो गरी केही सावधानी अपनाउने र निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना भागेजस्तो गरी काम सक्न हतारिएजस्तो गरी भिड बढ्ने गरेको छ भन्दै डा.अधिकारीले भने, ‘भ्याक्सिन लगाएको छु भन्दैमा कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड पालना नगर्ने बढेका छन्् । गतवर्ष घरेलु उपचार गरेर निको भएका पनि यसवर्ष सख्त बिरामी परेका छन् ।’ स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बिरामीको चाप बढ्दै गएकाले भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा शय्या थप्नका लागि छलफल अघि बढाइएको र अक्सिजन अभाव हुन नदिन उत्पादक कम्पनी र सप्लायर्सका प्रतिनिधिसँग पनि छलफल गरिएको जानकारी दिए ।

अहिले अक्सिजन अभाव नभए पनि भदौको पहिलो सातासम्ममा अक्सिजनको अभाव हुनसक्ने भएकाले पूर्वतयारी थालिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अस्पताल र अक्सिजन सप्लायर्ससँग छलफलपछि आज नगर प्रमुखसहित सरोकारवालासँग छलफल गर्न लागिएको बताए । पूर्ण निषेधाज्ञाको समयमा संक्रमितको संख्या घटे पनि अहिले बढ्न थालेकाले सावधानी अपनाउनुपर्ने भन्दै उनले निषेधाज्ञालाई केही कडाइ गर्नुपर्ने हो कि भन्ने विषयमा पनि छलफल भएको बताए । जिल्लामा हालसम्म २० हजार ७ सय ६९ संक्रमित भएकामा १८ हजार २ सय ४२ जना निको भएका छन् । संक्रमणबाट हालसम्म ३ सय ३५ जनाको मृत्यु भएको छ । जिल्लामा दोस्रो लहर उच्च हुँदा सक्रिय संक्रमित ४ हजार ७ सय नाघेको थियो । त्यतिबेला अस्पतालका शय्या नभरिए पनि सघन उपचार कक्ष र अक्सिजनको अभाव भने भएको थियो ।

प्रतिक्रिया