केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्नुस् : आनन्द पोखरेल

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् । रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रमा उनले भने, ‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो। यो खेदजनक छ। केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईंहरू केपी ओलीलाई मार्न चाहनुहुन्छ ? वा जेल हाल्न चाहानुहुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’

नेता पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन्। उनले भने, ‘अहिले नेपालको राजनीतिक अत्यन्तै तरल अवस्थामा छ। संक्रमणकालीन अवस्थामा छन् । राजनीतिक अस्थिरतातर्फ मुलुक अघि बढिरहेको छ। यसमा नेपालको आन्तरिक राजनीतिक कारण पनि छ, अर्को बाहृय शक्तिको पनि हात छ। र न्यायलयको फैसलाले पनि यो अवस्थाको श्रीगणेश गरेको छ ।’

सत्तापक्षीय गठबन्धनले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेर घोषणा गरे पनि त्यो उनीहरूको पराजित मानसिकता भएको पोखरेलले टिप्पणी गरे। आफूहरू केपी ओलीयुक्त नेपाल बनाउने अभियानमा लागेको पनि उनले सुनाए।

केपी ओलीको किड्नी फेल भएको छ, यो मरिहाल्छ अनि हामी राजकाज चलाउन पाउँछौं भनेर सोचेकाहरूले केपी ओली दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरेर फर्किएपछि षड्यन्त्रमा लागेका उनको आरोप छ । आफूहरू निर्वाचनको पक्षमा रहेकोले जहिल्यै निर्वाचनमा जान तयार रहेको पोखरेलको भनाइ छ । उनले भने, ‘हिजो निर्वाचनलाई प्रतिगमन देख्नेहरू आज यिनीहरूले निर्वाचन गर्छनजस्तो मलाईचाहिँ लाग्दैन ।’

सत्तापक्षीय गठबन्धनले निर्वाचन गराउनुभन्दा पनि बरु अदालतबाटै १० वर्ष नै यो सरकारको आयु लम्ब्याउन मिल्ने भए त्यतातिर जानसक्ने टिप्पणी गरे । भने, ‘किनभने सेटिङमा अदालतबाट फैसला गराउनुभएको छ ।’ चुनाव आफूहरूको माग भएको जिकिर गरे। उनले कांग्रेस, माओवादी केन्द्र र जसपालगायत गठबन्धनलाई कथित संज्ञा दिँदै यसले निर्वाचन गराउन नसक्ने दाबी गरे ।

प्रतिक्रिया