बायर्नको लज्जास्पद हार

पेरिस । प्रि–सिजनको मैत्रीपुर्ण खेलमा खराव प्रदर्शनलाई निरन्तरता दिदा अघिल्लो सिजनको बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले इटालियन क्लब नेपोलीसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा बायर्नले नेपोलीसँग ३–० को हार बेहोरेको हो । बायर्नलाई हार चखाउन भिक्टर ओसिमहेनले दुई तथा जिनेदिन मचाहले एक गोल गरे । सबै ३ गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ६९औं मिनेटमा ओसिमहेनले गोल गर्दै नेपोलीलाई १–० ले अघि बढाए । त्यसको दुई मिनेटपछि नै ओसिमहेनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ८५औं मिनेटमा जिनेदिन मचाहले गोल गर्दै बायर्नलाई ३–० को हार चखाए । बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा बायर्नले हार बेहोर्न पुग्यो ।

प्रि सिजनको चार खेलमध्ये बायर्नको यो तेस्रो हार हो । एफसी कोल्नसँग ३–२ ले पराजित भएको बायर्न आयाक्ससँग २–२ गोलको बराबरी खेलेको थियो । त्यसपछि बोरुसिया मोन्चेनग्लाडवाकसाग २–० को हार बेहोरेको थियो । प्रि–सिजनमा नेपोलीको यो लगातार तेस्रो जित हो । यसअघि नेपोलीले एनाउनियामाथि १२–० को जित दर्ता गर्दा प्रो भेर्सेलीलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया