पुनः तुइन प्रकरण

गत शनिबार दार्चुलाका एक युवा तुइनको सहारामा महाकाली नदी पार गर्ने क्रममा दुर्घटनाको सिकार बने । यो दुर्घटना हत्या हो या संयोग हो ? भन्ने एकिन हुन सकेको छैन । उनी तुइनमा चढेर नदीको बीचतिर पुग्दा भारतीय सीमा सुरक्षाबलले डोरी खोलिदिएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीहरूको भनाइ सत्य हो भने यो संयोग नभएर हत्या हो । सत्य तथ्य छानविनका लागि सरकारले समिति गठन गरेको छ । तर, भारतीय सीमा सुरक्षाबल तुइन खोलिदिएको कुरा स्वीकार गर्न तयार छैन । यदी प्रत्यक्षदर्शीहरूले मोबाइलमार्फत भिडियो खिचेका छन् भने त ठिकै छ, खिचेका रहेनछन् भने बास्तविक दोषीले सजाय पाउने संभावना रहेन ।

दैनिक सयौं मानिस ओहोरदोहोर गर्ने नाकासमेत हो दुर्घटनास्थल मालघाट । वारि नेपालको सानो बजार छ, पारि भारतको अली ठूलो बजार छ । पारिपट्टी भारतले सुरक्षाकर्मी तैनाथ गर्ने गरेको समाचारमा आएको छ । वारिपट्टी नेपाली सुरक्षाकर्मी थिए वा थिएनन् ? भन्ने एकिन हुन सकेको छैन । यदि वारिपट्टी नेपाली सुरक्षाकर्मी भएको भए यो घटना नहुन पनि सक्थ्यो । अथवा घटनाको सत्य तथ्य बाहिर आउन सजिलो पथ्र्यो । दैनिक सयौं मानिस ओहोरदोहोर गर्ने, त्यसमाथि पनि आफ्नै देशका नागरिक ओहोरदोहोर गर्ने यो नाकामा किन सरकारी उपस्थिति देखिएन ? भन्ने प्रश्नको पनि छानविन टोलीले संवोधन गर्नुपर्छ ।

भारतप्रति आक्रोश पोख्नुभन्दा पनि यो घटनाबाट पाठ सिक्नु जरुरी छ । किनकी यो नयाँ समस्या होइन । यसैगरी तुइन दुर्घटना हुनासाथ पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्नु पनि आत्मरति मात्रै हो । उनले पहिलोपटक ०७२ असोजमा प्रधानमन्त्री नियुक्त हुनासाथ तुइनमुक्त नेपाल बनाउने घोषणा गरेका हुन् । तुइन भनेको ढुंगे युगिन प्रविधि हो । बास्तवमा त्यतिबेला प्रधानमन्त्री ओलीले गरेको तुइन विस्थापित गर्ने निर्णय युगान्तकारी थियो । नेपाललाई ढुंगेयुगबाट मुक्त गर्ने प्रयास थियो । आजको २१औँ शताव्दीमा ढुंगेयुगलाई निरन्तरता दिनु हुँदैन भनेर पहिलोपटक निर्णय गरेको ओलीले नै हो । तर, निर्णय कार्यान्यन हुन सकेन । पहिलोपटक त जम्मा नौ महिना मात्रै प्रधानमन्त्री बन्ने अवशर पाएकोले ओलीलाई दोष दिन मिल्दैन, तर दोस्रोपटक ओलीले साढे तीन वर्ष प्रधानमन्त्री बन्ने अवसर पाउँदा तुइन विस्थापित गर्ने आफ्नो युगान्तकारी निर्णय कार्यान्यन गर्न बिर्से । बरु पानीजहाज, चुच्चे रेल, राम मन्दिर, पुशपतिनाथमा सुनको जलहरीतिर उनी लहसिए ।

महाकाली नदीको तुइन विस्थापन नेपाल सरकारको आफ्नो मात्रै बुताभित्र पर्दैन । वारि नेपाली भूमि भए पनि पारी भारतीय भूमि हो । शनिबार भएको दुर्घटनास्थल मालघाटमा तुइनलाई झलुंगेपुलले विस्थापित गर्ने सन्दर्भमा भारतसँग चार वर्षअघि नै सहमति भइसकेको हो । तर ठेक्का संझौता भएको दुई वर्ष बित्न लाग्दासमेत झलुंगे पुल निर्माणको काम थालनी हुन सकेन । बढीमा पाँच÷सात करोड रुपैंया बजेट खर्च गरेर एक वर्षभित्रै सम्पन्न गर्न सकिने काम हो यो । महाकाली नदी वारपारका लागि दर्जनौँ तुइनहरू छन् । जहाँजहाँ तुइनहरू छन् त्यहाँत्यहाँ पुल निर्माण उपयुक्त छैन । दीर्घकालीन रूपमा नेपाललाई फाइदाजनक छैन । भारतसँगको खुला सिमाना नेपालका लागि टाउको दुःखाइको विषय हो । महाकाली नदीका तुइनहरू पुलद्वारा होइन कि सडकद्वारा विस्थापित गर्नुपर्छ । महाकालीको वल्लो किनार हुँदै लिम्पियाधुरासम्म पक्की सडक निर्माण गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ । आफ्नै देशको एउटै पालिकाको एक गाउँबाट अर्को गाउँमा जानका लागि भारतीय भूमी प्रयोग गर्नुपर्ने वाध्यता अहिलेसम्म कायम रहनु भनेको ज्यादै ठूलो दुर्भाग्य हो ।

प्रतिक्रिया