डुंगा पल्टिँदा तीन बेपत्ता, एकको मृत्यु

कैलाली । कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुंगा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

डुंगा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ बस्ने २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनको शिशु र सोही ठाउँ बस्ने २० वर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । त्यस्तै डुंगा दुर्घटनामा घाइते भएकी मोहन्याल–३ बस्ने १९ वर्षीया धनसरा सलामीमगरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका एक महिनाका छोरा कर्ण सलामी गम्भीर घाइते भएका छन् ।

डुंगामा १० मान्छे सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ । यहाँ सहजरूपमा आवागमनका लागि पुलको व्यवस्था नहुँदा नागरिकले जोखिमको यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया