निर्देशनमा अब्बल

काठमाडौं । नेपाली चलचित्र निर्देशनमा जनकराज खकुरेल परिचित अनुहार हो । उत्कृष्ट निर्देशनमार्फत उनले आफ्नो छवि निर्माण गर्न सफल भएका छन् । खकुरेलले अहिलेसम्म नौवटा चलचित्र निर्देशन गरिसकेका छन् । उत्कृष्ट निर्देशन गरेको भन्दै उनलाई विभिन्न संघसंस्थाले अवार्ड प्रदान गरेका छन् ।

निर्देशक खकुरेलले अहिरलेसम्म चारपटक उत्कृष्ट निर्देशकको अवार्ड जितिसकेका छन् । नेपाली चलचित्रमा एकै निर्देशकले चारपटक अवार्ड जित्नु आफूमा सुखद संयोग रहेको निर्देशक जनकको जिकिर गर्छन् । उनले ‘नेफ्टा अवार्ड’, ‘हिमालय इन्टरनेसनल’, ‘डि–सिने अवार्ड’ र ‘नेसनल इन्टरटेनमेन्ट’ लगायतका अवार्ड हात पारेका छन् । ‘म लगातार चलचित्र निर्देशन नगर्ने निर्देशकमा पर्छु । मलाई कुनै कथाले प्रभावित बनायो भने मात्र म निर्देशनको मोर्चा सम्हाल्न अगाडि आउँछु’, उनी भन्छन्, ‘म कवि भूपी शेरचनको थोरै लेख्ने, तर राम्रो लेख्ने शैलीबाट प्रभावित छु । धेरै चलचित्र निर्देशन गरेर धेरै गल्ती र दाग बनाउनुभन्दा थोरै र राम्रो चलचित्र बनाउनुपर्छ भन्ने मेरो सोच हो ।’

उनका अनुसार यस क्षेत्रमा काका दिनेश खकुरेलका साथी साउण्ड रेकर्डिस्ट माधव थपलिया, निर्देशक मोहन निरौलाको सल्लाह र प्रोत्साहनले नै जनकलाई पाइला चाल्न सजिलो भयो । खकुरेलले सहायक निर्देशक, मुख्य सहायक निर्देशक हँुदै सफल निर्देशकका रुपमा आफूलाई परिचित बनाएका छन् । नेपालमा छायांकन गर्न आउने धेरै विदेशी चलचित्र निर्माण टोलीले खकुरेलको सहयोग लिएका छन् । त्यसकारण पनि उनी आफूलाई देश विदेशमा भित्रिएका नयाँ नयाँ प्रविधि र ज्ञान सिक्न पाएका छन् । नेपाल लेखक संघको सदस्य रहेका उनी विभिन्न संघ संस्थामा मानार्थ सदस्यसमेत रहेका छन् ।

प्रतिक्रिया