अलमुताइरीको राजीनामाको विषय मन्त्रालय पुग्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामाको विषयमा छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । एन्फाको शुक्रबार बसेको कार्यसमिति बैठकले प्रशिक्षकको राजीनामा प्रकरणका लागि छानबिन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । मुख्य प्रशिक्षकले आफूमाथि गम्भीर आरोप लगाएको भन्दै नेम्वाङले छानबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए । त्यसपछि बिहीबार मुख्य प्रशिक्षक अलमुताइरीले पनि वरिष्ठ उपाध्यक्ष नेम्वाङ र दुई पत्रकारमाथि छानबिनको माग गर्दै एन्फामा उजुरी दिए ।

प्रशिक्षकको राजीनामा प्रकरण र वरिष्ठ उपाध्यक्षमाथिको आरोपबारे छलफल गर्न एन्फाले शुक्रबार आकस्मिक कार्यसमितिको बैठक आह्वान गरेको थियो ।  शुक्रबार उपरान्ह बसेको एन्फा कार्यसमिति बैठकले घटनाको उच्चस्तरीय छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । ‘छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ । अब मन्त्रालयले समिति बनाएर छानबिन गर्नेछ,’ एन्फा प्रवक्ता किरण राइले भने ।

प्रतिक्रिया