मदन पुरस्कारको सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ । शुक्रबार गुठीले गतवर्ष प्रकाशित भएका २२२ पुस्तकबाट अन्तिम नौ पुस्तकको सूची सार्वजनिक गरेको जनाएको छ । सूचीमा एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते, लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका छन् ।

‘एकलव्यको देब्रे हात’ गिरि श्रीस मगरको दोस्रो कवितासंग्रह हो । यसलाई ‘बुकहिल पब्लिकेसन’ ले प्रकाशन गरेको हो । ‘करिया’ लेखक कृष्ण अविरलको उपन्यास हो । यसमा करियाका दुःखदेखि करिया मोचनका लागि चन्द्रशमशेरलाई उत्प्रेरित गर्ने पृष्ठभूमिलाई उधिनिएको छ । ‘कल्प–ग्रन्थ’ कुमार नगरकोटीको पुस्तक संग्रह हो । ‘बुकहिल’ ले प्रकाशन गरेको यस ग्रन्थमा सामान्य कथादेखि, चित्रकथा, इन्स्टलेसन कथासम्म समावेश गरिएको छ । ‘नृत्याक्षर नृत्य’ चर्चित नृत्य निर्देशक भैरवबहादुर थापाले नृत्य विज्ञानलाई आधार बनाएर लेखेको पुस्तक हो । पुस्तकमा शास्त्रीयदेखि, लोक तथा आधुनिक नृत्यको व्याकरणलाई उधिनिएको छ । ‘फिलिङ्गो’ प्रभा बरालको नारी पात्रलाई केन्द्रमा राखेर लेखिएको उपन्यास हो ।

यस्तै, ‘फुलाङ्गे’ दार्जिलिङका लेखक लेखनाथ क्षेत्रीले लेखेको उपन्यास हो । जसमा विधवा विवाहलाई मुख्य विषय बनाइएको भने दार्जिलिङमा सन् १९८६ मा भएको गोर्खाल्यान्ड आन्दोलन र त्यसबेलाको समाजलाई चित्रण गरिएको छ । यो उपन्यास ‘सांग्रिला बुक्स’ ले प्रकाशन गरेको हो । यस्तै, ‘मोक्षभूमि’ लेखक तथा राजनीतिज्ञ केशव दाहालको पहिलो उपन्यास हो । यस उपन्यासमा खस राज्यमा भएको दासमोचनको कथालाई चित्रण गरिएको छ । खस राजा क्राचल्लदेवको पालामा जुम्लाको सिंजामा भएको दासमोचनको घटनालाई उपन्यासको मुख्य विषय बनाइएको छ । यो पुस्तकलाई किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।

‘रमिते’ लेखक एवं गायक जेसन कुँवरले लेखेको उपन्यास हो । नाइट ब्यान्डका गायकसमेत रहेका कुँवरले यस पुस्तकमार्फत नेपाली माटोको कथालाई प्रस्तुत गरेका छन् । आवरणमा लेखकको नाम नलेखिएको यस पुस्तकलाई रेडपाण्डाले प्रकाशन गरेको हो । त्यस्तै, लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (सम्वत् १७१९–२०२०) अनुसन्धानकर्ता भगिराज इङ्नामले लेखेका हुन् । पुस्तक लिम्बुवान क्षेत्रका राज्यव्यवस्था र जनजीवनका दस्तावेज (चिठीपत्र, कागजात, शिलालेख) लाई आधार मानी तयार पारिएको छ । धरानका इङ्नामले यसअघि पनि लिम्बू जातिमाथि खोज–अनुसन्धान गरी पुस्तक लेखेका थिए । २०१३ सालमा मदनशमशेर जबराको नाममा स्थापना गरिएको मदन पुरस्कार अहिले चार लाख रुपैयाँ राशिको रहेको छ ।

प्रतिक्रिया