कांग्रेसमा विवादित सदस्यबारे नयाँ मापदण्ड

काठमाडौं । विवादमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विषय नयाँ मापदण्ड बनाइ समाधान गर्ने सहमति भएको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा शीर्ष नेताबीच उक्त विषयमा सहमति भएको हो । करिब ४ घण्टा चलेको शीर्ष नेताबीचको छलफलपछि विवादित विषय टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको हो ।

उक्त छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । सहमहामन्त्री महतका अनुसार क्रियाशील सदस्यता छानविन समितिमा निरुपण हुन नसकेको विवादमा केन्द्रित रहेर छलफल भएको थियो । वरिष्ठ नेता पौडेलले मापदण्ड बनाएर विवाद समाधान गर्ने गरी छलफल भएको बताए । उनले समायोजनसम्बन्धी विवादले रोकिएको क्रियाशील सदस्यतालाई पनि विधिसम्मत तवरले टुंग्याइने जनाए । खासगरी छानविन समितिमा प्रवेश नै नगरी नेतृत्व तहमा बुझाइएको सप्तरी र बाराबाट आएका सदस्यको सन्दर्भमा नयाँ मापदण्ड बनाइने कांग्रेसले जनाएको छ ।

महतले धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा जारी अनशन र धर्नालाई समेत सम्बोधन गरिने बताए । सभापति देउवाले कांग्रेस हुन चाहनेलाई क्रियाशील सदस्यबाट बञ्चित नगर्न हुने गरी समाधान खोज्नुपर्ने बताएका थिए । उनले छलफलमा सहभागी नेतालाई सोही अनुसार निकास खोज्न आग्रह गरेका थिए ।

प्रतिक्रिया