जिप्रकाको भवन नौ वर्षदेखि अलपत्र

काभ्रे । धुलिखेलस्थित सञ्जीवनी बजारमा निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयको भवन नौ वर्षदेखि अलपत्र अवस्थामा छ । जिएम कन्स्ट्रक्सनले ०६९ वैशाख १२ मा ४ करोड ३२ लाख ५ हजारमा सम्झौता भई ०७० साउन १२ मा सम्पन्न गर्ने गरी कार्य थालनी गरेको भवन निर्माणको काम व्यवसायीले समयमा सम्पन्न नगर्दा अलपत्र अवस्थामा पुगेको हो । बालमैत्री, अपांगमैत्री, प्रहरीको क्वार्टर, चमेनागृह, सुविधा सम्पन्न पार्किङसहित सेवाग्राहीमैत्री रूपमा बनाइएको भवनमा लेउ लागेको अवस्था छ भने आँगनभरी झार उम्रिसकेको छ । तत्कालीन अवस्थामा वाग्मती अञ्चलकै नमुना र सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना बनाएर सुरु गरिएको नौ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्यले अझै पूर्णता पाएको छैन ।

निर्माणको जिम्मा पाएको कम्पनीले समयमा काम नगरेका कारण अर्को निर्माण कम्पनीमार्फत काम गर्न लाग्दा पहिला जिम्मा पाएको निर्माण कम्पनीले प्रशासन कार्यालयविरुद्ध मुद्दा दायर गरेपछि त्यसको किनारा नलाग्दा सो काम प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसका कारण आफ्नै भवन निर्माण कार्य सम्पन्न गर्न नसकेपछि भाडाको घरमा वार्षिक लाखौँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएकामा साउनको पहिलो सातादेखि भने जिल्ला समन्वय समितिको परिसरमा निर्माण गरेको ट्रस्ट भवनलाई मर्मतसम्भार गरी कार्यालय सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिले आफ्नै पक्की भवन निर्माण गरेर सरेपछि खाली रहेको ट्रस्ट भवन मर्मत गरी जिल्ला प्रशासन कार्यालय सो भवनमा सरेको हो । यसअघि सो कार्यालयले मासिक १ लाख १० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

त्यसरी वार्षिक रूपमा १३ लाख २० हजार भाडा तिर्दै आएकामा अब त्यो रकम तिर्नुनपर्ने भएको छ । एकातिर व्यक्तिको घरमा त्यसरी कार्यालय सञ्चालन गर्दा नागरिकलाई दोस्रो, तेस्रो तल्लासम्म जानुपर्ने र कुन कोठा नम्बरबाट कुन सेवा दिने भन्ने नै अफ्ठ्यारो भएको कारण ट्रस्ट भवनमा सरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

प्रतिक्रिया