शिवशंकरको गाईजात्रे झटारो

काठमाडौं । नेपाली समाजमा गाईजात्रालाई हांस्य र व्यंग्यको पर्वको रुपमा लिने गरिन्छ । यस दिनलाई लक्षित गर्दै विभिन्न हास्यव्यंग्य सामग्री बजारमा भित्रिने गर्दछन् । यसैमेसोमा आगामी ७ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै हाँस्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले ‘बकम्फुसाय नम’ ल्याएका छन् । उनले यस वर्षको लागि आफ्नो गाईजात्रे कमेडी कोसेलीका रुपमा ल्याएको ‘बकम्फुसाय नम’ मा देशको समसामयिक राजनीति, राजनीतिक दल तथा विकृति विसंगतिप्रति तिखो प्रहार गरिएको छ । रिजालको यो पटकको गाईजात्रे कोसेलीमा पनि एक प्यारोडी गीतसहित र प्रहसनसमेत रहेको छ । प्रहसनको केन्द्र भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलापलाई आधार बनाइएको छ ।

प्रहसन तथा प्यारोडीको भिडियोसमेत बनेको रिजालले जानकारी दिए । जुन ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत बुधबार साँझ सार्वजनिक गरिएको छ । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘बकम्फुसाय नम’ २०औं कोसेली हो । गतवर्ष उनले ‘लकडाउन’ नामक गाईजात्रे कोसेली ल्याएका थिए । हाँस्यकलाकारका लागि गाईजात्रा एउटा उत्सव भएकाले लामो समयदेखि गाईजात्रे कोसेली ल्याउने गरेको सुनाउँदै त्यसैको निरन्तरताको रुपमा यस वर्ष पनि हाँस्यव्यंग्य कोसेली ल्याएको बताए । रिजालले भने, ‘गत वर्ष मेरो ‘लकडाउन’ नामक गाइजात्रे कोसेली आएको थियो । यसलाई धेरैले हेरे, टिकटक लगायत सामाजिक सञ्जालमा समेत भाइरल भयो । मैले हरेक वर्ष आफ्नो पर्सनल गाईजात्रे कोसेली ल्याउने गरेको छु ।’ अन्य कलाकारसँग मिलेर आउने गाईजात्रे कोसेली पनि आउने गरेको र यो वर्ष पनि आउने रिजालले बताए । उनले ‘हुकुम बक्सियोस’ गीतलाई यसमा प्यारोडीमार्फत नेताको रमाइलो प्रस्तुति समेटेका छन् ।

गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलवा दमन रुपाखेती, शशीविक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, वेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भूमिकामा देखिएकी छन् । २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यंग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाईजात्रे कोसेली समसामायिक विषय र राजनीतिक विकृतिप्रति खरो झटारो भएको रिजालको भनाई रहेको छ ।

प्यारोडी गीतमा रिजाल तथा शंकर कार्कीको शब्द रहेको छ भने शशी विक्रम थापा तथा राधिका हमालले स्वर दिएका छन् । रिजाल कलाकारिताको हरेक विधामा फिट देखिँदै आएका कलाकार हुन् । बितेका वर्षझै यो वर्षको आफ्नो गाईजात्रे कोसेली दर्शकस्रोताले रुचाउने उनको विश्वास रहेको छ ।

प्रतिक्रिया