सामलिंग पावरको स्थानियलाई आइपिओ

काठमाडौं । सामलिङ पावर कम्पनीले साउन २२ देखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले इलामको आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ ।

बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभारीका स्थानीयका लागि छुट्याइएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको आइपीओ बिक्री गर्न लागेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । स्थानीयले भदौ ४ सम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २० गतेसम्म खुला रहनेछ ।

लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यसको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया