नेपालबाट भारत तस्करी हुँदै गरेको ३१ हजार किलो हरियो केराउ बरामद

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजार किलो केराउ नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो । बुधबार सातवटा पिकअप र एउटा ट्रकमा लैजाँदै गरिएको उक्त केराउको बजार मूल्य रु ३८ लाख ७५ हजार रहेको उनले बताए । सातवटा पिकअप भैरहवाबाट ल्याउँदै गर्दा परासीको सीमा क्षेत्र र एउटा ट्रकमा केराउ अनलोड गरिरहेकै अवस्थामा सेमरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार ती पिकअपमध्ये ६ वटा भैरहवास्थित शिवशङ्कर इन्टरप्राइजेजबाट नवलपरासीको भारतीय सीमा क्षेत्रस्थित प्रतापपुर गाउँपालिका–५ को श्रीराम इन्टरप्राइजेज, अम्बे इन्टरप्राइजेज र सोनु एण्ड मोनु जनरल स्टोर्सका लागि लैजान लागिएको थियो भने एउटा पिकअपको केराउ शुभगणपति टेडर्स रामग्राम–१० बाट भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दनको पडरीतफै लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो ।

यस्तै प्रतापपुर–२ मा एसएस इम्पेक्स वीरगञ्जबाट रकिरोशन जनरल स्टोर्स प्रतापपुरतर्फ लैजान अनलोड गरिरहेका अवस्थामा आधा ट्रक केराउ नियन्त्रणमा लिइएको हो । बरामद गरिएका केराउको आवश्यक अनुसन्धानका लागि महेशपुर भन्सार वा राजश्व अनुसन्धान कार्यालयमा चलान गर्ने तयारी गरिएको प्रनाउ लामाले जानकारी दिए ।

केही दिनअघि पनि भारतीय सीमा क्षेत्रबाटै प्रहरीले १८ हजार केजी हरियो मटर छवटा पिकअपसहित नियन्त्रणमा लिएको थियो । प्रहरीले पटकपटक ठूलो परिमाणमा हरियो केराउ बरामद गर्दै आए पनि तेस्रो मुलुकबाट आउने केराउको तस्करी रोकिएको छैन । तेस्रो मुलुकबाट सस्तोमा नेपाल आउने केराउ भारतमा महङ्गोमा बिक्री हुने भएकाले केराउको तस्करी अत्यधिक हुने गरेको बताइएको छ ।

प्रतिक्रिया