कर उठाउन ठूला करदाताको कार्यलयमै महानगरको माइकिङ

काठमाडौं । घरजग्गा तथा सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यलयमै गएर काठमाडौं महानगरपालिकाले माइकिङ सुरु गरेको छ । बक्यौता कर उठाउन गत १६ असारमा ३० दिने सार्वजनिक सूचना जारी गरेको महानगरपालिकाले अझैसम्म सम्बन्धीत करदाता सम्पर्कमा नै नआएपछि बुधबारदेखि यसरी माङकिङ सुरु गरेको हो । माइकिङ गर्दै तोकिएको अवधिमा कर तिर्न नआए अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने चेतावनी सहित सूचना टासिएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिको राजश्व विभाग प्रमुख डा.शिवराज अधिकारीले बक्यौता कर उठाउन यसअघि धेरै प्रयास गर्दा पनि विभिन्न ठुला करदाताहरु हालसम्म अटेरगरि सम्पर्कमा नै नआएकाले बाध्य भएर माइकिङ गर्दै सुचना टास्नु परेको बताए । अधिकारीका अनुसार अहिलेसम्म नाम सार्वजनिक गरिएको २० करदातामध्ये काठमाडौ महानगरपालिका –११ वडामा रहेको एनआरटी. क्लव, १३ नम्वर वडामा रहेको काठमाडौँ इञ्जिनियरिङ कलेज सम्पर्कमा आएका छन् । अन्य बाँकीले सम्पर्क नै गरेका छैनन् ।

यी करदाताले हालसम्म आफुले तिर्नुपर्ने विवरण नबुझाएका कारण यकिन कर अंक भन्न कठिन भएको बताउँदै अधिकारिले भने, ‘यि करदाताहरुबाट हामीले करिव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौँ ।’ काठमाडौ महानगरपालिकको राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले बुधबार काठमाडौं महानगरपालिका वडा ११ मा रहेको एनआरटी क्लव र युनाइटेड वल्ड सेन्टर, कामनपा १२ वडामा रहेको बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स र १३ वडामा रहेको काठमाडौँ इञ्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्दै सूचना टाँसेको छ ।

काठमाडौ महानगरपालिकालाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा कामनपा वडा १४ मा स्थित आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान, एलआरआई स्कूल, १५ नं. वडामा रहेको मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, ३ वडामा रहेको कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताल रहेका छन् । यसैगरी, कामनपा २२ वडामा रहेको आरबी कम्प्लेक्स, २४ वडाको सुरज आर्केट, २९ वडाको शुभश्री कोअपरेटिभ लिमिटेड, २८ वडाको काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट, ३० वडाको गोपालजी प्रोपर्टिज प्रालि. र स्टार मल रहेका छन् । यी करदातालाई कर तिर्न दिएको अन्तिम म्याद आगामी १५ साउन सम्म मात्रै रहेको छ ।

प्रतिक्रिया