पहेँलो धातुको रहस्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले मंगलबार पहे“लो धातुसहित एक व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आउँदै गरेका गोरखा जिल्लाका पदम परियारलाई पहेँलो रंगको धातुसहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त परियारले ल्याएको कपको भित्री भागमा पहेँलो धातु भेटिएको हो । नेपाल प्रहरीले यस्ता विज्ञप्ति निकाल्ने गरेको नयाँ घटना होइन । यस्ता विज्ञप्ति किन र के का लागि निकालिन्छन् ? भन्नेतर्फ मिडियाकर्मीहरूले पनि खासै फलोअप गर्ने गरेको देखिन्न । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीका लागि बद्नाम छ । प्रहरी तथा भन्सारका कर्मचारीको मिलेमतोविना सुन तस्करी संभव छैन । सुन तस्करीमा प्रहरी तथा भन्सारका कर्मचारीहरूको के कति मिलेमतो हुन्छ ? भन्ने प्रश्नको उत्तर भनेकै माथि उल्लिखित विज्ञप्ति हो । उक्त विज्ञप्तिमा सुन नभनेर किन पहेँलो धातु भनियो ? किनकी तस्करसँग लेनदेनको कुरा नमिलुन्जेल पहे“लो धातु हो । यदि लेनदेनमा कुरा मिल्यो भने उक्त पहेँलो धातु पित्तल प्रमाणित हुन्छ ।

लेनदेनमा कुरा मिलेन भने सुन प्रमाणित हुन्छ । अक्सर गरेर पहे“लो धातु पित्तल हुने गरेको छ । चार वर्षअघि नेपाल प्रहरीका डिआइजी नवराज सिलवालको नेतृत्वको टोलीले ३८ किलो सुन पक्राउ गर्यो । इमानदारीपूर्वक सुन पक्राउ परेको विज्ञाप्ति जारी गर्यो । पहेँलो धातु भनेन । तर, एक साता बित्दै नबित्दै उक्त धातु सुन नभएर पित्तल भएको प्रमाणित गर्न सिलवालमाथि ठूलो दबाब आयो । मिडियामा सुन नै हो भनेर बास्तविक समाचार गएका कारण सिलवालले पित्तल बनाउन सकेनन् । जसका कारण उनी नेपाल प्रहरीको आइजिपी बन्नबाट वञ्चित मात्रै भएनन्, धेरै ठूलो दुःख पाए । प्रहरी भन्दा सुन तस्करको पहुँच बलियो भएका कारण पनि प्रहरीहरूले पक्राउ परेको पहेँलो धातुलाई सुरुमै सुन भन्न सक्दैनन् । पहेँलो धातु सुन हो या पित्तल हो ? पहिचान गर्न हाम्रो विमानस्थलमा उपकरण नभएका होइनन् । एक मिनेटमै छुट्याउन सकिन्छ, तर पनि कहिलेकाहीँ पहेँलोे धातु बरामद भएको समाचार आउँछ । उक्त धातु सुन हो या पित्तल हो खुटिन करिब महिना दिन लाग्छ । खासगरी एउटा सरकार जाने र अर्को सरकार आउने संक्रमणकालको एक महिनाको अवधिमा त्रिभुवन विमानस्थलमा पहेँलो धातु फेला पर्छ । प्रहरीको नेतृत्व परिवर्तन, त्रिवि विमानस्थलको भन्सार प्रमुख तथा सुरक्षा नेतृत्व परिवर्तन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख परिवर्तनका बेला पनि पहेँलो धातु बरामद भएका समाचार आउँछन् । तस्करहरूले संक्रमणकाललाई मौका बनाएर पहे“लो धातु ल्याउने गरेका हुन् या संक्रमणकालमा सेटिङ गडबड हुने भएकोले यस्ता समाचार बढी आउने गरेका हुन्, एकिन हुन सकेको छैन ।

सुन तस्करीमार्फत हुने फाइदा भनेको भन्सार दर बापतको रकम मात्रै हो । एक किलो सुनका लागि भन्सार महसुल करिब २० हजार रुपैंया पर्छ । तर एक किलो सुन बरामद भयो भने एक करोड रुपैयाँ गुम्छ । जेल जानुपर्ने हुन्छ । हाम्रो विमानस्थल भन्सार कार्यालयमा सुन ओसारपसार गरेको थाहा पाउने उपकरण छन् । तैपनि सुन तस्करी भइरहेको छ । गृहमन्त्रीको संरक्षण तथा नेपाल प्रहरीको स्कटिङमै सुन तस्करी भएका घटना पनि नेपालमा छन् । गृहमन्त्री बन्नका लागि सबैभन्दा ठूलो हानथाप र प्रतिस्पर्धा किन हुन्छ ? एक वर्षका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख बन्नका लागि दशौं करोड रुपैया“को चलखेल किन हुन्छ ? भन्ने प्रश्नको उत्तर ‘ओपन सेक्रेट’ जस्तै छ । हाम्रा राजनीतिकर्मी, हाम्रो प्रहरी संयन्त्र तथा भन्सारमा काम गर्ने कर्मचारी रातारात धनी हुनु र बद्नामसमेत हुनुको कारण के हो ? भन्ने कुरा जगजाहेर छ ।

प्रतिक्रिया