सम्माननीय राष्ट्रपतिज्यूलाई महाभियोग लाग्ला ?

निनाम कुलुङ ‘मंगले’

राष्ट्रपतिले कहिल्यै स्वविवेक प्रयोग गरेको देखिएन । त्यसैले अरू त अरू नै भई गए, सर्वसाधारण मानिसहरूले हेर्दा पनि बालुटारबाट जे कुराको अह्रन–खटन हुन्थ्यो, शीतल निवासबाट निमेष भरमै सही–छाप (लालमोहर !) लगाउने काम गरेको जस्तो मात्रै देखिन्थ्यो ।

नेपालकी दोस्रो राष्ट्रपति तथा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीका बारे मुखरित भएर आएको एउटा आवाज वा भनौँ माग छ, ‘उहाँले अब स्वविवेक प्रयोग गरेर राजीनामा दिए राम्रो वा हुन्छ ।’ अथवा स्वेच्छाले राजीनामा गर्दा राम्रो हुन्छ, त्यसो गर्दा उहाँको गरिमा अरू बढ्छ । अन्यथा उहाँलाई संसद्को विशेष बैठक बसेर, संसद्बाट ‘महाभियोग लगाएर भए पनि राष्ट्रपति पदबाट हटाउनुपर्छ’ नहटाए पनि महाभियोग लगाउनै पर्छ भन्ने माग छ । किनभने, शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथ गराउनुअघि नै र, गराउँदा गराउँदैदेखि ने इगो वा भनौँ टकराव सुरु भएको जस्तो देखिन्छ ।

त्यसैले राष्ट्रपति भण्डारीले स्वविवेक प्रयोग गरेर पदबाट राजीनामा दिए राम्रो हुन्छ । स्वेच्छाले राजीनामा नदिए पास भए पनि, नभए पनि महाभियोग लगाउनै पर्छ, भन्ने माग एक थरी कानुुनविद् र बुद्धिजीवीहरूको रहेको देखिन्छ । उनीहरूको तर्क र उदाहरण छ, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हट्ने पक्का हुँदाहुँदै पनि महाअभियोग लगाइएको थियो । ट्रम्पले दोस्रो कार्यकालका लागि निर्वाचन जितेका थिएनन् तापनि पछि आउने राष्ट्रपतिहरूका लागि पाठ होस्, उनीहरूले शक्तिशाली पदमा छु भन्दैमा जताभावी गर्नु हुँदैन भनेर सवक सिकून् भनेर पनि महाभियोग लगाइएको थियो । त्यस्तै भण्डारीलाई ‘महाभियोग लगाएर भए पनि राष्ट्रपति पदबाट हटाउनुपर्छ’, आवश्यक संख्या नपुगे पनि महाभियोग भने लगाउनै पर्छ । त्यसो नगरेपछि आउने राष्ट्रपतिहरूले पनि मन लाग्दी वा आपूmखुसी गर्न सक्छन्, भन्ने तर्क राखेको देखिन्छ ।

राष्ट्रपति भण्डारी बारे किन यस्तो माग उठ्यो त ? त्यस बारेमा पनि छोटकरीमा केही न केही चर्चा नगरी यो लेख अपूरै हुन्छ । उहाँले राष्ट्रपतिजस्तो गरिमामय पद, त्यो पनि संवैधानिक रूपमै तोकिएका कुराहरू मात्रै गर्नुपर्नेमा सीमा नाघेको देखियो । प्रधानमन्त्री केपी ओली ज्युले पहिले नै ‘यसो–यसो गरौँ है कमरेड !’ भनेर कानेखुसी गरेकै भरमा राष्ट्रपति भण्डारीले पनि ‘जसो जसो पुरेतबाजे, उसै उसै स्वाहा !’ भनेभैmँ काम गरेको देखिन्थ्यो । हुन पनि कतिपय अवस्थामा त राष्ट्रपतिले एक निमेष पनि आप्mना सल्लाहकारहरू वा विषय विज्ञहरूसँग सामान्य सोधपुछ र सल्लाहसमेत नगरी बालुवाटारबाट जेजे सिफारिस आउँथ्यो, खुरुखुरु स्वीकृत भएको वा भनौँ लालमोहर लागेको मात्रै देखिन्थ्यो । राष्ट्रपतिले कहिल्यै स्वविवेक प्रयोग गरेको देखिएन । त्यसैले अरू त अरू नै भई गए, सर्वसाधारण मानिसहरूले हेर्दा पनि बालुटारबाट जे कुराको अह्रन–खटन हुन्थ्यो, शीतल निवासबाट निमेष भरमै सही–छाप (लालमोहर !) लगाउने काम गरेको जस्तो मात्रै देखिन्थ्यो ।

यसरी हेर्दा राष्ट्रपति भण्डारीले स्वविवेक प्रयोग नगरेर, आफ्नो विभिन्न विषयका लागि भनेर नियुक्त गरिएका सल्लाहकार र विज्ञहरूसँग सल्लाहसमेत नलिई कार्यकारी प्रमुख अथवा भनौँ प्रधानमन्त्री ओलीको गोटी मात्रै भएको प्रस्टैसँग देखिन्छ । हुन त केकति कारणले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको काम कारबाही गलत वा सही के हो त ? भनी कसी लगाउने, परीक्षण गर्ने वा स्वविवेक प्रयोग गर्ने काम गर्नु चाहनुभएन वा सक्नुभएन ? उहाँ स्वयंले नै जान्ने कुरा भयो । यो विषयमा यो भन्दा बढी अरू केही नलेखौँ, अहिलेलाई ।

तैपनि, तत्कालीन सरकारप्रमुख ओलीविरुद्घ हाल प्रधामन्त्री बन्नुभएका शेरबहादुर देउवाले १ सय ४९ जना सांसदहरूको हस्ताक्षर (त्यसमध्ये १ सय ४४ जना त सशरीर उपस्थित भएका थिए) सहित सरकार बनाउन दावी पेस गर्नुभयो । संसद्मा आफ्नो बहुमत रहेकोले संविधानको धारा ७६ (५) अनुसार आफूलाई प्रधानमन्त्रीमा नियुक्त गराई पाउँ भन्ने समावेदन (निवेदन !) लाई सम्माननीय राष्ट्रपतिले अनेक कूतर्क गरेर, अन्टसन्ट भनेर तर्काउनु भएपछि नै धेरैजसो मानिसहरूले गम्भीर प्रश्न उठाएका थिए । कतिपय ‘फेसबुके कमरेड’हरूले राष्ट्रपति र प्रधानमन्त्रीको अनेकखाले चित्रहरू बनाएर फेसबुकमा पोस्ट गर्न पनि भ्याएका थिए । हुन पनि ‘माने मान नमाने …’ भने भैmँ राष्ट्रपति भण्डारीले अरू विकल्प नखोजी तत्कालै ओलीको सिफारिसमा संसद् विघटन गराउनुभएको थियो ।

प्रधानमन्त्री पदको सपथ खाने÷खुवाउने क्रममा ओली ज्युले छुटेको शब्द बारे ‘त्यो … पर्दैन !’ भन्नुभएको र, सम्माननीय राष्ट्रपति ज्युले पुनः प्रधानमन्त्री पदको सपथ लिँदै गर्नुभएका केपी ओली ज्युलाई हेर्दै गललल हाँसेको भिडियो त अहिले चलेको भाषामा भन्नुपर्दा भाइरल नै भएको थियो भने, कतिपय कमेडी सिरियल बनाउनेहरूले पनि पूर्वप्रधानमन्त्री ओलीज्यू र सम्माननीय राष्ट्रपतिज्यूको ‘त्यो … छुटेको !’ र ‘त्यो … पर्दैन !’ भन्ने संवादलाई आधार मानेर व्यंग्य पनि प्रस्तुत गरे, आममानिसहरूलाई मनोरञ्जन दिलाउने एउटा माध्यम नै बन्यो । त्यस्तै नेपालका इतिहासकारहरूले पनि इतिहास लेख्ने क्रममा पूर्वप्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘त्यो … छुटेको !’ र ‘त्यो … पर्दैन !’ भन्ने संवादलाई उल्लेख गर्लान् नै ।

साँच्चै भन्नुपर्दा राष्ट्रपति भण्डारीले ‘अब आउने सरकारले मलाई महाअभियोग लगाएर हटाइहाल्छ !’ भनेर हो वा सुरुमै ‘एकपटक सिंगौरी खेली हालौँ न त !’ भनेर हो ? देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने पत्रमा सुरुमै ‘२०७२ को संविधानको धारा ७६ (५) अनुसार’ प्रधानमन्त्रीमा नियुक्त गरएको छ भन्ने शब्द नराखेर राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्युबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८–३–२८ को फैसला बामेजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका संसदीय दलका नेता माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’ भन्ने शब्द राखिएको थियो । तर, नयाँ नियुक्त हुन लाग्नुभएका प्रधानमन्त्री देउवाले तत्कालै सो शब्द नसच्याए अथवा नसच्चिए आपूmले प्रधानमन्त्री पदको सपथ नखाने भनेपछि बल्ल राष्ट्रपति कार्यालयले सच्याएर ‘देउवालाई सर्वोच्चको आदेश र संविधानको धारा ७६ (५) अनुसार’ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ भन्ने शब्द राखेपछि नयाँ नियुक्त हुनुभएका देउवाले प्रधानमन्त्रत्रीको सपथ ग्रहण गर्नुभएको थियो ।

यी यावत् कुराहरू हेर्दा राष्ट्रपति भण्डारीले भोलि आउने दिनमा पनि सरकार प्रमुखसँग सिंगौरी नखेल्नुहोला, संविधानअनुसार वा संवैधानिक रूपमा गर्ने कामहरू मात्रै गर्दै चुप लागेर पद र प्रतिष्ठाको मान राख्दै सोझो हिसाबले बस्नुहोला त ? प्रश्न छँदै छ । त्यसैले राजनीतिमा समावेशी, समानुपातिक भनेर मात्रै साँच्चै नहुने रहेछ, आधा आकाश ढाक्ने महिला, ३८/४० प्रतिशत आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, तेस्रो लिंगी आदि इत्यादि भनेर मात्रै त झनै नहुने रहेछ !? भन्ने पो देखियो । त्यसैले भविष्यमा नेपालमा निर्वाचित भएर आउने अन्य (यही व्यवस्था रहिरहेमा) राष्ट्रपतिहरूका लागि पनि शिक्षा होस् !, भन्नका लागि पनि वर्तमान राष्ट्रपतिज्यूविरुद्घ महाभियोग लगाउनैपर्ने देखिन्छ । पास भए हट्नु हुन्छ, पास नभए नेपालमा भविष्यमा निर्वाचित भएर आउने राष्ट्रपतिहरूका लागि पनि सिक्न सक्ने एक पाठ वा शिक्षा हुन्छ ।

प्रतिक्रिया