ब्राजिल समूह विजेता, जर्मनी बाहिरियो

टोकियो । साविक विजेता ब्राजिल जापानमा भइरहेको टोकियो ओलम्पिकको पुरुष फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण जितेको थियो । त्यतिबेला रजत जितेको जर्मनी भने यस पटक समूह चरणबाटै बाहिरिएको छ । समूह डी अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३–१ ले पराजित गर्दै ब्राजिल समूह विजेता बनेको हो । साइतामा रंगशालामा भएको खेलमा ब्राजिलका लागि रिचार्लिसनले दुई तथा माथेउस कुन्हाले एक गोल गरे । साउदीका लागि अबदुलेलाह अल अमरिले एक गोल गरे ।

समूहमा ब्राजिल अपराजित रहँदै ७ अंक जोड्यो । साउदी भने समूह चरणबाटै बाहिरिएको छ । यसै समूहको अर्को खेलमा आईभरीकोष्टसँग १–१ गोलको बराबरी खेलेपछि जर्मनी बाहिरियो । आइभरीकोष्ट ५ अंक जोड्दै समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । जर्मनी ४ अंकसहित समूहमा तेस्रो भयो ।

मियागी रंगशालामा भएको खेलमा जर्मनीका बेन्जामिन हेन्रिक्सले आत्मघाती गोल गर्दा आइभरीकोष्टले अग्रता बनाएको थियो । एडुवार्ड लोएवेनले जर्मनीका लागि बराबरी गोल फर्काएका थिए । यस्तै समूह बी बाट दक्षिण कोरिया र न्युजिल्याण्ड क्रमशः समूह विजेता र समूह उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । कोरियाले होन्डुरोसलाई ६–० ले हरायो । कोरियाका लागि उई जो ह्वाङले ह्याट्रिक गरे । न्युजिल्याण्ड र रोमानियाले गोलरहित बराबरी खेलेका थिए । न्युजिल्याण्ड ओलम्पिकमा पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।

प्रतिक्रिया