सुधार भएन सुनारखोला यात्रुलाई बर्सेनि सास्ती

कालीकोट । कर्णाली राजमार्गअन्र्तगत खाँडाचक्र नगरपालिकास्थित सुनारखोलाले यात्रुलाई बर्सेनि सास्ती दिने गरेको छ । माथिबाट बगिरहेको पहिरोले सडक हिलाम्य भएपछि यातायातका साधनहरू चल्न मुस्किल भएको छ । सुर्खेतदेखि दैलेख, कालिकोट, जुम्ला हँुदै मुगुसम्म पुग्ने यातायातका साधनहरू सुनारखोलामा तीन/चार दिन वास बसेर जानुपर्छ । न त राम्रो होटलको व्यवस्था छ न त भरपर्दो सडक छ । मुगु, जुम्ला कालिकोट हुँदै सुर्खेतसम्म यात्रा तय गरेका यात्रुहरू गन्तव्यहीन बनाउँछ सुनारखोलाले । कर्णाली राजमार्गको स्तरोन्नतिका लागि बर्सेनि रकम विनियोजित भए पनि हालसम्म सुधार हुन सकेको छैन । करिब चार सय मिटर सडक हिलाम्य हुँदा साना ठूला सवारी साधनहरू दिनभर जाममा परेका हुन्छन् । उक्ते सडकका लागि प्रदेश, स्थानीय तहले रकम विनियोजित गरे पनि सडक स्तरोन्नति भने हुन सकेको छैन ।

अत्यावश्यक कामले नेपालगञ्जसम्म पुग्नै पर्ने कामले बिहान ६ बजे हाइसको टिकट काटेका स्थानीय वीरेन्द्र अधिकारीले दिनभरी सुनारखोलामा बसेको पीडा सुनाए । उनले भने, ‘सुनारखोला जाने बित्तिकै गाडीहरूको लस्कर थियो, एउटा ठूलो ट्रक बाटोमै फसेर करिब चार सय मिटरसम्म सडक जाम थियो । हतारिएका यात्रुहरू छरिएका थिए । ट्रक ननिकालेसम्म जाम खोल्ने छाँठकाँटै छैन ।’ अधिकारी मात्र हैनन् कालीकोटदेखि सुर्खेत, नेपालगञ्ज हुँदै काठमाडांैसम्म यात्रा गर्ने हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका प्रायःजसो यात्रुहरू सुनारखोलामा तीन÷चार घण्टा जाममा पर्छन् । सोचेको काम, पुग्नुपर्ने गन्तव्य सबै चकनाचुर हुने यात्रुहरूको भनाइ छ ।

वर्षाको समयमा यस खोलाले बर्सेनि यात्रुलालाई दुःख दिने गरेको छ । माथिबाट आएको पहिरोले सडकलाई च्यापेर माटो मात्र बग्छ । गाडीहरू त्यही माटोमाथि गुड्दा गाडी चिप्लिने,े टायर पन्चड हुने, पट्टा भाग्ने लगायतका अन्य समस्याहरूले गाडीहरू जाम हुने सवारीचालक लक्ष्मी धितालले बताए । कर्णाली राजमार्गअन्तर्गत सुनारखोलामा यस जिल्लाका स्थानीय तहरूको कुनै सक्रियता देखिँदैन । बाटो खुलाउन सडक विभागले पहल गर्नुपर्ने भन्दै स्थानीय तह मौन देखिन्छन् ।

०७५ साल भदौमा पलाँता गाउँपालिका र तिलागुफा नगरपालिकाले सुनारखोलामा आएको पहिरो स्थानीय सरकारको रकमबाट पन्छाएका थिए । सम्बन्धित स्थानीय तह खाँडाचक्र नगरपालिकाले पनि पहिरो पन्छाउने काम गरेको छैन । तर, धेरै सममय बाटोमा नबसुन् भनेर यात्रु प्रतिक्षालय बनाएको खाँडाचक्र नगरपालिका प्रमुख जसि पाण्डले बताए । पाण्डेले सडक विभागले उक्त सडकलाई मर्मत गर्नुपर्नेमा नगरेको भन्दै यस कर्णाली राजमार्गका अन्य सडकहरूमा गरेको कालो पत्रे एक हप्ता नपुग्दै उप्किएर गएकोमा आक्रोश व्यक्त गरे । आक्रोशमा देखिएका पाण्डेले अब खाडाँचक्र नगरपालिकाको बजेटबाटै उक्त सुनारखोलाभित्र पर्ने सडक मर्मतमा ध्यान दिने बताएका छन् ।

यस सडक भएर यात्रा गर्ने सबै साना ठूला सवारी साधनहरूले दिनैपिच्छे सास्ती भोग्नुपरेको छ । यात्रु, स्थानीय बासिन्दालगायत सबैले स्थानीय तहको नै आस मानेर बसेका छन् । सडक मर्मत हुन पाए सबैको भलो हुने नागरिकको बुझाइ छ । साना ठूला सवारी साधनहरू बिग्रिने समस्याले पनि सुनारखोला नाम सुन्ने बित्तिकै सवारी चालकहरू दुःखित हुने गरेको सवारीचालक रमेश विष्टले बताए ।

प्रतिक्रिया