दुना–टपरी उत्पादन गरेर स्वरोजगार बन्दै महिला

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारी ‘एच’ गाउँकी ३२ वर्षीया भावना पुलामीमगर बिहान ७ बजेदेखि राती १० वजेसम्म सालको पातको दुना–टपरी बनाउन व्यस्त हुन्छिन् । उनी मात्र होइन उनका पति, छोरा र छोरी पनि सोही काममा व्यस्त हुन्छन् । महिलाहरूले पनि केही इलम गरेर स्वरोजगार बन्न सकिन्छ भन्ने मान्यताका साथ उनले पाँच वर्ष अगाडिदेखि सनीडाँडा फूलबारी दुना–टपरी उद्योग सञ्चालनमा ल्याइन् र सालको पातको दुना–टपरी उत्पादन गर्न थालिन् ।

हामी महिला भएर पनि केही उद्यम गरेर जीविकोपार्जन गर्न सकिन्छ भनेर उद्योग सञ्चानमा ल्याए उनले भनिन् । सुरुआतमा साना तथा घरेलु उद्योग कार्यालय कैलालीबाट १० दिने तालिम लिएर १ लाख ८० हजारको दुना–टपरी उत्पादन गर्ने मेसिन खरिद गरी उत्पादन सुरु गरेकी पुलामी मगरलाई अहिले ग्राहकलाई दुना टपरी पु¥याउन भ्याइनभ्याइ छ । उनी भन्छिन्, ‘अहिले आफूले उत्पादन गरेको दुना–टपरी कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम लगायतका जिल्लाहरूमा जाने गर्दछ ।’

खासगरी पूजापाठ, भोजभतेर, वर्थडे, पास्नी, ठेलागाडीहरूमा पानीपुरी बेच्नेहरूले आफूले उत्पादन गरेको बस्तु किन्ने गरेको उनको भनाइ छ । उनले आफ्नो उद्योगमा विभिन्न साइजका सालको पातका दुना–टपरी उत्पादन हुने गरेको बताइन् । दुई इन्चको दुना–टपरीलाई प्रतिगोटा ६० पैसा, चार इन्चको ८० पैसा, पाँच इन्चको ९० पैसा, ६ इन्चको एक रुपैयाँ, सात इन्चको १ रुपैयाँ ८० पैसा, आठ इन्चको दुई रुपैयाँ र १० इन्चको तीन रुपैयाँका दरले होलसेलमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।

सुरु सुरुमा उत्पादन भए पनि बिक्री नहुने समस्या भोगेकी पुलामी मगरले अहिले भने अवस्था सहज भएको बताइन् । सुरुमा महँगो भनेर कोही किन्दैनथे अहिले भने बजारको माग अनुसार पु¥याउनै धौ छ उनले भनिन् । अहिले उद्योगबाट राम्रै आम्दानी पनि हुन थालेको बताउँदै उनले भनिन्, ‘छोरा÷छोरीको पढाइ खर्च घर खर्च राम्रै चलेको छ । खर्च कटाएर लगभग मासिक २०÷२५ हजार बच्छ ।’ उनको उद्योगबाट गाउँघरका करीब २५÷३० जना महिला दिदीबहिनीलाई पनि रोजगारी सिर्जना भएको छ । सालको पात टिपेर ल्याउने, पात गाँस्ने महिलाहरूले पनि रोजगारी पाएको उनले बताइन् ।

उनले एक बोरा पातलाई आफ्नो उद्योगले १ सय २० रुपैयाँमा खरिद गर्ने गरेको र सानो पात गाँस्नेलाई सय पिसको ३० रुपैयाँ दिने गरेको तथा ठूलो पात गाँसेको सय पिसको ५० रुपैयाँ दिने गरेको बताइन् । उनको उद्योगलाई व्यवस्थित र ठूलो बनाउने चाहना हुँदाहुँदै पनि आर्थिक अभावका कारण समस्या भएको बताउँदै उनले भनिन्, ‘एउटा जस्तापातले छाएको ट्रस बनाउन पाए ठाउँ पनि फराकिलो हुन्थ्यो पानी पर्दा नभिज्ने पातहरू सुकाउन पनि सहज हुन्थ्यो तर आर्थिक अभावमा त्यो गर्न सकिएको छैन ।’ कही कतैबाट अनुदानसमेत नपाएको भन्दै उनले भनिन्, ‘अझै दुई वटा मेसिन थप्ने योजना छ तर आर्थिक अभावका कारण सकेको छैन । वडा कार्यालयले अहिले एउटा मेसिन दिने भनेको छ अर्को एउटा मेसिनका लागि धनगढी उपमहानगरपालिकामा माग गर्ने योजना छ ।’

प्रतिक्रिया