कुलो निर्माणसँगै किसानमा छायो खुसी

मुगु । हिमाली जिल्ला मुगुमा एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानीयतह छन् । यीमध्ये दुई गाउँपालिका पश्चिम खत्याड गाउँपालिका र उत्तरी सोरु गाउँपालिकामा १३ वटा सिँचाइका लागि सिँचाइ कुलो निर्माण भई सञ्चालनमा आएसँगै यहाँका किसानहरूमा खुसी छाएको छ । विगतका वर्षहरूमा आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका र आकाशे पानीको भर पर्नुपर्ने बाध्यता खेप्दै आएका यहाँका किसान कुलो सञ्चालनमा आएसँगै त्यो बाध्यता टरेको बताए । गाउँगाउँमा सिँचाइका लागि कुलो बनेपछि उब्जनी पनि बढ्ने यहाँका किसानहरूको आशा पलाएको छ ।

पाखो जमिन र सिँचाइ सुविधा नहुनाले पनि सोचेअनुरूप उब्जनी नहुँदा यहाँका किसान हैरान थिए । तर, अनुकूलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय विश्व खाद्य कार्यक्रम र ग्रामीण सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित क्यापस कर्णाली परियोजनाअन्तर्गत सिँचाइ कुलो निर्माण भई सञ्चालनमा आएसँगै यहाँका किसानमा खुसी छाएको छ ।

कुलो निर्माण भई सञ्चालनमा आएसँगै सोरु गाउँपालिका–९ सिडी बहुउपयोगी सिँचाइ कुलो आयोजनाका अध्यक्ष जनक रोकायाका अनुसार अब आकाशे पानीको भर पर्नु नपर्ने र किसानको उत्पादन पनि बढ्ने भन्दै खुसी व्यक्त गरे । यता सिड गाउँकै स्थानीय रुद्धकला रोकायाका अनुसार सिँचाइ कुलो निर्माणमा समूह समूह बनाइ काम गरिरहेको बताइन् । उनी भन्छिन्, ‘महिला पुरुष सबै जनाले रातदिन नभनी साबेल, घन उठाएर भए पनि गाउँमै पाएको रोजगारीसँगै सिँचाइ सुविधिाले आफूहरू सन्तुष्ट भएक छौँ ।’

सिँचाइ कुलो निर्माणको काममा १८ वर्षभन्दा माथिका र ६० वर्षसम्मका कामदार सिँचाइ कुलो निर्माणको काममा जुटेका थिय । सिँचाइ सुविधा पुगेपछि किसानको उत्पादन बढ्ने र खाद्य समस्या हट्दै जाने अपेक्षा गरिएको छ । कुलो निर्माण हुँदै गर्दा स्थानीयले पैसा पनि कमाउने र खेतमा सिँचाइ गरी उत्पादन पनि बढ्ने भएकाले क्यापस कर्णाली परियोजनाले सिँचाइ कुलो निर्माणमा जोड दिएको उद्यम विकास अधिकृत जगतबहादुर भामले बताए । उनका अनुसार सिँचाइ कुलो निमार्णका क्रममा जलवायु परिवर्तनको असरलाई पनि ध्यानमा राखेर काम गरेको बताए । लगभग ६ करोडभन्दा बढी लागतमा १३ वटा सिँचाइ कुलो निर्माण भई सञ्चालनमा आएका अधिकृत भामले बताए ।

महिलाले पनि पुरुषसरह नै दैनिक आठघण्टा ढुंगा फोड्ने, वाल लगाउने काममा खटिइएका र सबैले बराबर ज्याला पाएका महिलाहरू बताउँछन । सोरु गाउँपालिका–९ की रामदेवी योगीले भनिन्, ‘पुरुषसरह नै ज्याला पाएका छौँ महिलाले पनि गाउँमै रोजगारी पाउँदा एकदमै खुसी भएका छौँ ।’ यसैबीच सिँचाइ कुलो निर्माणसँगै घट्ट नहँुदा घण्टौ हिँडेर अर्को गाउँमा कुटानीपिसानी गदै आएका सिड्डी गाउँका लागि ३२ लाख बराबरको मिल निर्माण गरिने भएको छ । सिँचाइ सुविधा अलवा कुटानीपिसानी र पेलालीको लागि त्यहि कुलोबाट सिड्डी गाउँमा आधुनिक घट्ट पनि निमार्ण हुने क्यापस कर्णाली परियोजनका अधिकृत भामले बताए । सिँचाइ कुलो निर्माणसँगै २५ सय घरधुरी र २० हजार जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रतिक्रिया