सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्वमाओवादीका चार नेताद्वारा सर्वोच्चमा रिट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रमु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

उनिहरुले संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषण तथा परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी सांसद पद पुनर्बहालीका माग गर्दै रिट निवेदन दर्ता गराएका छन् ।

उनिहरुले नेकपा (माओवादी केन्द्र), निर्वाचन आयोग, संघीय संसद् सचिवालय, माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्ष बनाई रिट दायर गरेका छन् ।

उनिहरुले रिट निवेदनमा आफूहरु २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा संविधानको धारा ८४ (१) को (क) बमोजिम निर्वाचित भएको र संविधानको धारा ८५ वमोजिम निर्वाचित भएको मितिले पाँच वर्षसम्म रहने व्यवस्था अनुसार आफूहरु सो पदमा रहनुपर्ने माग गरेका छन् ।

नेकपा (एमाले) मा उहाँहरु चारै जना प्रवेश गरेपछि माओवादी केन्द्रले सांसद पद मुक्त गरेको थियो । रिट निवेदनमा संविधान र प्रचलित कानूनले निर्धारण गरेको आधार बिना नै सांसद पद रिक्त गर्न गरिएको निर्णय संवैधानिक र कानूनी व्यवस्था प्रतिकूल रहेको उल्लेख गरिएको छ । उनिहरुले दल त्याग गरेको आधारमा आफ्नो सांसद पद रिक्त गरिएको नभई दल त्यागको आरोप लगाई दलबाट निष्काशन गरिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया