खोजखबर

‘म माओवादीमै छु’ भन्दै सर्वोच्च पुगे टोपबहादुर, एमाले प्रवेश नगरेकाे दावी

सौर्य अनलाइन २०७८ साउन १३ गते १५:४५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । सांसद पदबाट हटाएको करिब ४ महिनापछि गुहार माग्दै सर्वोच्च पुगेका रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।

उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ ।

नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय