शाहरुखसँग काम गर्दै नयनतारा

मुम्बई । दक्षिण भारतीय अभिनेत्री नयनताराले पहिलो पल्ट बलिउड चलचित्रमा अभिनेता शाहरुख खानसँग काम गर्ने भएकी छन् । तमिल निर्देशक एटलीको निर्देशनमा’ बन्न लागेको चलचित्रबाट उनी बलिउड छिर्न भएकी हुन् । बलिउड अभिनेता शाहरुखको प्रमुख भूमिका रहने यो चलचित्र लामो समयदेखि चर्चामा थियो । शाहरुख ‘जिरो’ असफल भएपछि काममा खासै देखिएका थिएनन् । तर एटलीको यो चलचित्रमा उनले चासो दिएको खबर बाहिरिएको थियो । तर, अभिनेता शाहरुखले यो चलचित्रमा काम गर्नुअघि नै यशराज चलचित्रको ‘पठान’ को छायांकनमा व्यस्त भए । अब भने शाहरुखले यो चलचित्रको काम सकिएपछि एटलीको चलचित्रलाई समय दिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

३६ वर्षीय अभिनेत्री नयनताराले तमिल, तेलगु र कन्नड चलचित्रमा काम गरिसकेकी छन् । उनले हिन्दी चलचित्रमा भने अहिलेसम्म काम गरेकी थिइनन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले चलचित्र गर्न लागे पनि उनको भूमिका भने स्पष्ट भएको छैन । चलचित्रमा शाहरुख भने दोहोरो भूमिकामा देखिँदैछन् । अभिनेत्री नयनतारा चाँडै नै रजनीकान्त र विजय सेतुपतिसँगको चलचित्रमा समेत देखिँदैछन् । उनी खासगरी तमिल चलचित्रमा सबैभन्दा महँगी अभिनेत्रीका रुपमा परिचित छन् ।

प्रतिक्रिया