चलचित्रमा लगानी गर्दै सरकार

काठमाडौं । नेपाली चलचित्रको प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने भएको छ । सुरुमा १० चलचित्र निर्माणमा लगानी गर्दै नेपाली चलचित्रलाई प्रोत्साहन दिन लागेको हो । मौलिक तथा कलात्मक चलचित्र निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले चलचित्रमा सहनिर्माताको रुपमा लगानी गर्ने चलचित्र विकास बोर्डले जनाएको छ । मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै बोर्डले यसको जानकारी दिएको हो । सूचना अनुसार बोर्डले यो आर्थिक वर्ष ०७८/०७९ देखि दश चलचित्रमा सह–लगानी गर्ने छ । जसमा पाँच फिचर र पाँच छोटो चलचित्र रहनेछ ।

चलचित्र विकास बोर्डले मौलिक तथा कलात्मक चलचित्र निर्माणमा प्रोत्साहित गर्ने लक्ष्य राखेर गत वर्ष स्टोरी बैंकको समेत स्थापना गरेको थियो । यसअघि तीन फिचर र तीन छोटो चलचित्रमा सह–लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी चलचित्रको संख्यासमेत बढाएको हो । सूचनामा कस्तो चलचित्रमा र कति लगानी गर्ने भन्ने विषयमा भने केही खुलाइएको छैन । गएको आर्थिक वर्षमा स्टोरी बैंकमार्फत तीन छोटो र तीन फिचर चलचित्र छानिएका थिए । जसलाई बोर्डले सहयोग गर्ने जनाइएको छ । स्टोरी बैंकमा प्राप्त चलचित्रबाट छनोट समितिले भने ६ वटा चलचित्र सिफरिस गरेको थियो ।

प्रतिक्रिया