छायांकन चम्केका सौरभ

काठमाडौं । छायांकन चलचित्रका लागि एउटा प्रमुख पक्ष हो । छायांकनविना चलचित्र बन्न असम्भव प्रायः छ । पछिल्लो समयमा नेपाली चलचित्रमा धन्दिप योञ्जन (सौरभ लामा) रुचाइएका छायांकारका रुपमा परिचित छन् । सौरभले २०५९ सालमा विनोद सेरेङको चलचित्र ‘बगर (पछि यो चलचित्रको नाम संघर्ष जिन्दगीको)’ राखियोबाट सहायक छायांकारका रुपमा काम सुरु गरेका थिए । त्यसपछि उनले ‘भाग्य विधाता’, ‘कृष्ण अर्जुन’, ‘पापी मान्छे २’, ‘पहिलो पहिलो माया’ र ‘जब जब माया बस्छ’ मा सहायक छायांकनको कला देखाएका थिए ।

उनले पूर्ण छायांकारको रुपमा चलचित्र ‘मजबुर’ बाट नयाँ पाइला चाले । त्यसयता उनले ‘म त तिम्रै हुँ’, ‘पासवर्ड’, ‘रामकहानी’, ‘वीर’, ‘पिञ्जडा ब्याक अगेन’, ‘रुद्र’, ‘रिफ्युजी’, ‘सुपर गोर्खे’, ‘वार’ लगायतका दर्जन चलचित्रमा छायांकनको नेतृत्व गरिसकेका छन् । सौरभले खिचेका चलचित्र ‘म यस्तो गीत गाउँछु २’, ‘मनसँग मन’, ‘सम्हालिन्छ कहिले मन’ र ‘कमिटमेण्ट ६० आवर्स’ प्रदर्शनको तयारीमा छन् । सौरभको चलचित्र छायांकनको परिधि नेपालमा मात्र सीमित छैन । उनले बलिउडको ‘घर परिवार’ र ‘तोर दिल मोर धडकन’ मा पनि आफ्नो छायांकन कला देखाइसकेका छन् ।

उनले १५ टेलिभिजन सिरियल, २० बढी टेलिभिजन विज्ञापन र करिब दुई सय गीति भिडियो पनि खिचिसकेका छन् । सौरभको व्यस्तता सेलुलोइडदेखि डिजिटल प्रविधिमा आउँदासम्म उत्तिकै बढ्दो छ । चलचित्रको छायांकनमा उनको उत्कृष्ट कलाले उनी दर्शकमाझ पनि उत्तिकै प्रिय छन् । उनीसँग छायांकन कला सिकेका थुप्रै सहायक छायाकारले राम्रो काम गरेर नेपाली चलचित्रमा योगदान दिइरहेका छन् । कोभिड महामारीका कारण चलचित्रका गतिविधि ठप्प भए पनि गीति भिडियोमा उनको व्यस्तता रोकिएको छैन । ‘नयाँ नयाँ भिडियोको कुराकानी भइरहेको छ । अहिले चलचित्रको काम रोकिएपछि भिडियोतिर ध्यान दिन थालेको छु’, सौरभ भन्छन्, ‘आफूले मागेजति पारिश्रमिक पाइरहेको छु । त्यसकारण पनि म सन्तुष्ट छु । निर्माता र निर्देशकले रुचाएको छायांकारका रुपमा चिनिन पाउँदा गर्व लागेको छ ।’

प्रतिक्रिया