टाटाको बिद्युतीय नेक्सन गाडी बजारमा

काठमाडौ । टाटाको विद्युतीय एसयुभी नेक्सन नेपाली बजारमा सार्वजनिक गरिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत नेक्सन इभी (विद्युतीय गाडी) सार्वजनिक गरेको हाे । नेक्सन–इभी जिपट्रोन प्रविधिमा आधारित छ । कम्पनीले दाबी गरेअनुसार यसमा निकै टिकाउ ब्याट्री रहेको छ । एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या दुई सय ५० देखि तीन सय किलोमिटरको दुरी गुड्ने छ । डिसीचार्जर प्रयोग गर्दा नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ ।

विद्युतीय नेक्सनको बनावट निकै बोल्ड र आकर्षक छ । बाहिरी आर्कषणसँगै यसका विशेषताका कारण यो नेपाली बजारमा प्रतिक्षित गाडीको रुपमा रहेको छ । यसमा टेल लाइट, टच स्क्रिन इन्फोटेनमेन्ट, रिअर एसी भेन्ट, आइपी ६७ कम्प्लायन्ट वाटर प्रुफ एन्ड डस्टरुफ ब्याट्री प्याक, मल्टिपल ड्राइभिङ मोड, हिल असेन्ट असिस्ट एन्ड हिल डिसेन्ड असिस्ट, ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, इलेक्ट्रिक पावर्ड सनरुफ, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर्स, एन्टिलक ब्रेकिङ सिस्टम, डुअल एयर ब्याग लगायतका विशेषता रहेका छन ।

नयाँ विद्युतीय नेक्सनमा २ सय ५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । जसले गर्दा कच्ची बाटोमा निकै सजिलै गाडीलाई चलाउन सकिन्छ । गाडीले ९.९ सेकेन्डमा शून्यदेखि १ सय किलोमिटरको रफ्तारमा गुड्ने क्षमता राखेको छ । गाडीले १२९ पिएस पावर र २ सय ४५ एनएमको टर्क जेनेरेट गर्ने पनि टाटाले जनाएको छ । नेक्सनको विद्युतीय मोडलको ब्याट्रीमा एक लाख ६० हजार किलोमिटर र गाडीमा एक लाख २५ हजार किलोमिटरको वारेन्टी रहेको छ । विद्युतीय गाडी नेक्सनलाई चालकले आफ्नै घरमा पनि चार्ज गर्न सक्छन । यसको लागि कम्पनी आफैले ग्राहकको घरमा चार्जिङ पोर्ट जडान गरिदिने पनि बताएको छ ।

कम्पनीका अनुसार यीबाहेक दोस्रो चरणअन्तर्गत थप ७ ठाउँमा चार्जिङ स्टेसनको निर्माण काम हुँदैछ । यस अनुसार प्रत्येक १५० किलोमिटरको दुरीमा ग्राहकले चार्जिङ स्टेसन पाउन सक्नेछन । डिसी चार्जिङ स्टेसनबाहेक कम्पनीले एक सय ठाउँमा इभी चार्जिङ पोर्ट पनि राख्ने बताएको छ । सन् २०२० को जनवरीबाट भारतमा बिक्री–वितरण सुरु भएको नेक्सन विद्युतीय गाडीले छोटो समयमै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको दाबी कम्पनीले गरेको छ । यस्को सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस एलयुएक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया