एक लाख राशिको गाईजात्रे च्यालेञ्ज

काठमाडौं । अन्नपूर्ण मिडया नेटवर्क अन्तर्गतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जले १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेञ्ज प्रतियोगिता गर्न लागेको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतियोगितामा प्रतिस्पर्धीले ३ मिनेटको एकल हांस्यव्यंग्य प्रस्तुतिको भिडियो रेकर्ड गरेर पठाउनुपर्ने जनाइएको छ । प्रतिस्पर्धामा सहभागी हुनेमध्येबाट उत्कृष्ट ३० छनोट गरिनेछ र उत्कृष्ट ३० ले निर्णायकले तोकेको विषयमा ५ मिनेटको एकल प्रस्तुति पुनः पठाउनुपर्ने रेडियो अन्नपूर्ण नेपालका प्रमुख शिरोमणि दवाडीले जानकारी दिएका छन् ।

यस गाईजात्रा कमेडी च्यालेञ्जको पहिलो चरण निर्णायकमा चलचित्र निर्देशक उदय सुब्बा, डकुमेन्ट्री एवं म्युजिक भिडियो निर्देशक दयाराम घिमिरे, चलचित्र निर्देशक सुमन दाहाल रहेका छन् । दवाडीका अनुसार दोस्रो अर्थात् फाइनल चरणको निर्णायकमा हास्यव्यंग्कार चट्याङ मास्टर, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हाँस्य कलाकार किरण केसी र अभिनेत्री सरिता लामिछाने रहेका छन् । हरेक महिना नयाँ प्रतियोगिता कार्यक्रम लिएर अगाडि बढ्दै आएको रेडियो अन्नपूर्ण नेपालले गत महिना एक लाख नगद पुरस्कारकै भानु कविता महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया