१३ वर्षको उमेरमै ओलम्पिक स्वर्ण

टोकियो । जापानकी स्केटबोर्डर मोमीजी निशियाले १३ वर्षको उमेरमा नै ओलम्पिक स्वर्ण जितेकी छिन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डीङमा उनले स्वर्ण जितेकी हुन् । १३ वर्षीया निशिया आफूभन्दा कान्छी ब्राजिलकी राय्सा लिएललाई पछि पार्दै स्वर्ण जितिन् । जापानकै १६ वर्षिया फुन्ना नकायामाले भने कास्य पदक जितेकी हुन् । ओलम्पिकमा एकै इभेन्टमा पदक जित्ने खेलाडीमा यो नै सबैभन्दा कम उमेरको पोडीएम बन्यो । पदक जित्नेको औसत उमेर १४ वर्ष १ सय ९१ दिन रहेको थियो ।

निशियाले कुल १५.२६ स्कोर गर्दै स्वर्ण जितेकी हुन् । लिएलले १४.६४ स्कोर जोडेकी थिइन् । निशियाले ओलम्पिकमा स्वर्ण जित्ने कान्छी खेलाडीको कीर्तिमान भने तोड्न सकिनन् । यसअघि १९३६ को बर्लिन गेम्समा मार्जरी गेस्ट्रीङले १३ वर्ष २ सय ६७ दिनमा स्वर्ण जितेकी थिइन् । निशियाभन्दा ६३ दिन कम उमेरमा उनले स्प्रिङबोर्डमा स्वर्ण जितेकी थिइन् ।

यो कीर्तिमान भने टोकियो ओलम्पिकमा तोडिने सम्भावना छ । जापानकी कोकोना हिराकी (१२ वर्ष ३ सय ४३ दिन) र बेलायतकी स्काइ ब्राउन (१३ वर्ष २८ दिन) ले बुधबार हुने महिला पार्क स्केटबोर्डीङमा प्रतिस्पर्धा गर्नेछन् । स्केटबोर्डीङले पहिलो पटक ओलम्पिकमा स्थान बनाएकोले पनि यसमा अधिकांश युवा खेलाडीले नै प्रतिस्पर्धा गर्दै आएका छन् ।

प्रतिक्रिया