आशावादी बन्दै पर्यटन व्यवसायी

कोरोना संक्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका चितवनका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ । कोरोनाको दोस्रो लहरसँगै निराश बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन् । गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ । बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि पछिल्ला दिन कष्टकर बनिरहेका छन् । होटल, रेस्टुराँलगायतका व्यवसायीले बैंक लगायतको ऋण तिर्न सकेका छैनन् भने मजदुरको अवस्था थप जटिल बनेको छ ।
कोरोनाको दोस्रो लहर घटेसँगै क्रमशः होटल आंशिक रूपमा खुल्न थालेका छन् । जंगल सफारी लगायतका केही गतिविधि सुरु भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटक आउन थालेको बताए । दैनिक एक सयका हाराहारीमा पर्यटक सौराहा क्षेत्रका होटलमा आएको उनले बताए । कतिपय घुमेर फर्कने गरेका छन् । पर्यटन मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउनसकेमा पर्यटकको संख्या बढ्ने र मजदुर सुरक्षित हुने व्यवसायी बताउँछन् ।

भट्टराईले भने, ‘अब कोरोना नबढे क्रमशः पर्यटक बढ्ने थिए ।’ वर्षातको समय पर्यटनका लागि राम्रो समय मानिँदैन । यो पर्यटनका हिसाबले अफ सिजन हो । दसैँअघिबाट पुनः पर्यटक आउन थाल्दछन् । वर्षातको समयमा सौराहामा बाढी आउने भएकाले समस्या हुने गर्दछ । निकुञ्जभित्रका गतिविधि वर्षातको समयमा सधैँ बन्द गर्ने गरिन्छ । सामुदायिक वनमा हात्ती सफारीलगायतका गतिविधि खुला हुने गर्दछन् । रेस्टुराँ एन्ड बार एसोसियसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार पारिवारिक रूपमा घुम्न आउने क्रम सुरु भएको छ । सौराहामा १ सय २० होटल र ५६ रेस्टुराँ दर्ता भएर सञ्चालनमा छन् । उनले भने, ‘कोरोना घटेसँगै केही उत्साह थपिएको छ ।’ आउँदो सिजनबाट व्यवसाय पूर्ववत् अवस्थामा फर्कने आशामा आफूहरू रहेको खतिवडाले बताए ।

हाल होटल, रेस्टुराँ आंशिकरुपमा खुलेका हुन् । होटलमा ३३ प्रतिशत पाहुना राख्न पाइन्छ भने रेस्टुराँ साँझ ७ बजेपछि सञ्चालन गर्न पाइँदैन । सौराहाको जंगल सफारी लजका कार्यकारी निर्देशकसमेत रहेका क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे होटलका बारेमा बुझ्नेको टेलिफोन निकै आएको बताए । उनले भने, ‘यस वर्ष मेरोमा तीत सयभन्दा बढी कोठा अग्रीम बुकिङ भइसकेका छन् ।’ कोरोना नबढे यस वर्ष धेरै राम्रो हुने उनले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत सौराहा आउने गर्दछन् । सौराहा आएकामध्ये ७० प्रतिशतले पर्यटकीय गतिविधिमा सहभागिता जनाउने गरेको घिमिरेले बताए । उनका अनुसार घरमा लामो समय बस्दा पट्यार लागेर घुम्न जान खोज्ने धेरै भए पनि अब कोरोना के हुन्छ भन्ने अन्योल कायमै छ । उनले भने, ‘कोरोना नियन्त्रणमा आयो भने पर्यटन क्षेत्र धेरै राम्रो हुन्छ ।’
पश्चिम चितवनको पटिहानीमा रहेको जंगलभित्रका सञ्चालक गणेश पौडेल पर्यटक आउनेक्रम सुरु भएको बताउँछन् । उनले भने, ‘तालिम लगायतका कार्यक्रमका लागि फोन आइरहेका छन् ।’ कोरोना बढेन भने व्यवसाय पूर्ववत् अवस्थामा फर्कने उनको विश्वास छ । पटिहानी क्षेत्रमा १७ साना ठूला होटल छन् ।

साराङ वाइल्ड लाइफ मेघौली र सेन्ट्रल पाम नारायणगढका सञ्चालक सुबोध प्रधानले बिस्तारै पर्यटक आउन थालेको बताए । क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीको भएको प्रधानले बताए । सौराहाका होटलमा मात्र ५ हजार ५ सय मजदुर कार्यरत छन् । तीसँगै हात्तीका १ सय ५०, डुंगा दुई सय, जिपका सय र नेचर गाइड तीन सय हाराहारी कोरोनाकै कारण पर्यटन व्यवसाय बन्द हुँदा प्रभावित भएका छन् । नेचर गाइड एसोसियसन सौराहाका सदस्य नारायण रिजाल गत वर्षको चैतयताबीचमा एक महिना सामान्य काम भए पनि अरू समय पर्यटकको पर्खाइमा बितेको गुनासो गरे । कोरोना संक्रमणका कारण आफूजस्ता तीन सय हाराहारी बेरोजगार हुनुपरेको उनकोे गुनासो छ । बाहिरबाट यहाँ बसोबास गर्ने गाइड संकटमा परेको रिजालले बताए । उनका अनुसार कोरोना बढेन भने पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कला भन्ने आशामा व्यवसायी छन् ।

नेपाल र भारतमा कोरोनाविरुद्धको खोप नलगाएसम्म विदेशी पर्यटक नआउने भन्दै उनले छिटो खोप पाए सहज हुने बताए । सन् २००८ बाट यो पेसा थालेका रिजाल विगतमा अहिलेसम्म यो अवस्था आएको थिएन भन्छन् । गत वर्ष कोरोना संक्रमणपछि यसको प्रभावका बारेमा अध्ययन गरिएको थियो । अध्ययन गर्ने टोलीमध्येका अगुवा पर्यटनविद् डा.विश्वराज सुवेदी कोरोना संक्रमणले पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको बताउँछन् । सौराहाका होटलमा मात्र बन्द हुँदा दैनिक ५६ लाख र रेस्टुराँमा ५२ लाख नोक्सानी हुने उनले बताए । सौराहाका होटलमा १५ अर्बभन्दा बढी लगानी छ । जिल्लाका सात पालिकामा होटल तथा रेस्टुराँ १ हजार १ सयभन्दा बढी छन् । तिनीहरूमा १० अर्बभन्दा बढी लगानी भएको भन्दै सुवेदीले १२ हजार ५ सय ५० ले आंशिक रोजगारी पाएको जानकारी दिए । त्यसमा बन्द हुँदा दैनिक २ करोड २० लाख नोक्सान भएको उनको भनाइ छ ।

मेघौलीमा पर्यटन क्षेत्रमा एक अर्ब लगानी भएको बताइन्छ । १६ उच्चस्तरका होटल रहेको मेघौलीमा ४ सय ५० मजदुरले काम गर्ने गरेको उल्लेख गर्दै उनले सिजनका समयमा दैनिक ८ लाख ५० हजार हाराहारी व्यापार हुने गरेको जानकारी दिए । चार अर्बभन्दा बढी लगानी भएको पटिहानीमा सात सयले रोजगारी पाएका छन् । होटल राम्रो चल्दा दैनिक ११ लाखको व्यापार हुने गरेको तथ्यांक छ । जिल्लामा रिसोर्ट, होटल, जिप, डुंगा, हात्ती, टाँगामा ३० अर्बभन्दा बढीको लगानी छ । सुवेदीका अनुसार जिल्लाका २ सय २५ पर्यटकस्तरीय होटलमा दैनिक १ करोड ५० लाख र अन्यमा १ करोड ५० लाख हाराहारी नै व्यापार हुने गरेकामा कोरोनाबाट प्रभावित बनेको हो ।

जिल्लामा आउने पर्यटकको पहिलो रोजाई जंगल सफारी हो । आर्थिक वर्ष ०७२÷७३ मा ८७ हजार ३ सय ९१ पर्यटक यहाँ घुमेका थिए । सोमध्ये नेपाली ३० हजार ५ सय ९२, सार्क मुलुकका ६ हजार ६ सय ६, तेस्रो मुलुकका ५० हजार १ सय ९३ रहेका थिए । अघिल्लो वर्ष भूकम्प गएकाले त्यस वर्ष पर्यटकको संख्या निकै घटेको थियो । आर्थिक वर्ष ०७३÷७४ मा यो संख्या १ लाख ३९ हजार ९ सय ७८ रहेको थियो । त्यसमा ३६ हजार ५३ नेपाली, १५ हजार ९ सय ६ सार्क मुलुक र ८८ हजार १९ तेस्रो मुलुकका थिए ।

आव ०७४÷७५ मा क्रमशः संख्या बढेर १ लाख ५२ हजार ६ सय ७१ पुगेको थियो । त्यसमा ३४ हजार ५० नेपाली, ९८ हजार ९ सय २५ तेस्रो मुलुक र १९ हजार ६ सय ९६ सार्कका रहेका थिए । त्यसको पछिल्लो वर्ष ०७५÷७६ मा यो संख्या बढेर १ लाख ८७ हजार १ सय ९ पुगेको थियो । त्यस वर्ष ४४ हजार ६ सय २३ नेपाली, सार्क मुलुकका २४ हजार ७ सय ७९ र तेस्रो मुलुकका १ लाख १७ हजार ७ सय ७ रहेका थिए । आव ०७६÷७७ मा मुख्य सिजन कोरोनाबाट प्रभावित नभएकाले पर्यटकको संख्या १ लाख ८२ हजार ४ सय ३५ पुगेको थियो । नेपाली ८९ हजार ४ सय ४१, सार्क मुलुकका १४ हजार २ सय ३९ र विदेशी ७८ हजार ७ सय ५५ रहेका थिए । चैतको पहिलो सातासम्म पर्यटक आएकाले तुलनात्मक हिसाबले संख्या राम्रो भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । गत वर्ष आव ०७२/७३ कै हाराहारीमा ९२ हजार २ सय ९ पर्यटक मात्र यहाँ घुम्न आएको तथ्यांक छ । त्यसमा ८९ हजार ६ सय १ नेपाली, १ हजार ३ सय ६४ सार्क मुलुक र १ हजार २ सय ४४ तेस्रो मुलुकका छन् ।

प्रतिक्रिया