सेवामा जुटेका युवा

पाल्पा रामपुर अस्पतालको आइसोलेसनका शय्यामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै गरेको दृश्य सधैँजसो देखिन्छ । आफन्त बिरामीलाई खाना जुटाउन देखिन्छ । यी सबै दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल । उनी अस्पतालमा कोभिडका बिरामीलाई आइसोलेसनमा राखेर उपचार सुरु गर्न थालेको खबर सुनेपछि त्यहाँको अवस्था बुझ्न अस्पताल परिसरमा पुगेका थिए । केहीबेर अस्पताल परिसरमा बसेर त्यहाँको दृश्य नियाल्दै जाँदा बिरामीका आफन्त खानाका खोजीमा नजिकैका होटलमा पसे । व्यवसायीले कोभिडका बिरामीलाई खाना खुवाउन भने चासो देखाएनन् । उनले बिरामीका निम्ति केही सहयोग गर्ने मनसायले रामपुर युवा क्लबमार्फत बिहान साँझ खाना खुवाउने अभियानमा युवालाई हातेमालो गर्दै अग्रसर भएर जुटे । क्लबका युवा मिलेर केही रकम आफैँबाट संकलन गरी अस्पतालमा उपचाररत कोभिडका बिरामी, कुरुवा, उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई दैनिक बिहान साँझ खाना खुवाउने अभियान थालियो ।

गत वैशाख अन्तिम साता सो अस्पतालमा आइसोलेसन सञ्चालनमा आएको थियो भने यसकोे दुई दिनपछि ३० वैशाखदेखि दैनिक क्लबले निःशुल्क खाना खुवाउने अभियान सुरु गरेको हो । यो अभियान अहिले पनि निरन्तर चलिरहेको छ । अस्पताल आसपासमा रहेका होटल व्यवसायीले आफूहरूमा संक्रमण सर्ने डरले खाना खुवाउन अस्वीकार गरेको देखेपछि सो समस्यालाई मध्यनजर गर्दै निःशुल्क खाना खुवाउने अभियान सुरु गरिएको कँडेलले बताए । उनले भने, ‘पैसा तिरेर खान्छुभन्दा पनि खाना खाने ठाउँ छैन बिरामीलाई, यस्तो अवस्था देखेपछि क्लबका युवाले केही रकम उठाएर हामी आफैँबाट खाना खुवाउने अभियान सुरुआत ग¥यौँ ।’ टाढाका बिरामीलाई घरबाटै खाना पकाएर अस्पतालसम्म ल्याउन अप्ठ्यारो स्थिति थियो भने अर्कोतर्फ होटलले पनि खाना खुवाउन नमानेको बिरामीका आफन्तले गुनासो पोखेपछि हामी आफैँले खाना बनाएर अस्पतालमा पु¥याउने गरिदिएको रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैले बताए । उनका अनुसार उक्त अभियानलाई देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संघसंस्थाबाट सहयोग रकम प्राप्त भइरहेको छ । हालसम्म करीब तीन लाख बढी रकम सहयोग जुटेको छ ।

सात जनाबाट खाना खुवाउन सुरु गरेको क्लबले एक दिनमा ३२ जनासम्मलाई खाना खुवाएको तथ्यांक छ । ट्राभल डेन्टिस्टरी नेपाल एवं होराइजन डेन्टल क्लिनिक रामपुरले खाना बनाउने तथा विभिन्न सहयोगको व्यवस्थापन मिलाएको छ । गाउँगाउँमा दोस्रो चरणअन्तर्गत कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि २०७८ वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेपछि सवारी साधन सञ्चालनमा रोक लगाइयो । अस्पतालदेखि टाढाका बिरामीलाई दैनिक बिहान साँझ घरबाटै खाना ल्याएर खुवाउन सम्भव थिएन । यस्तो परिस्थितिमा युवाले सामाजिक भावनाका साथ थालनी गरेको यो कार्य नमूना रहेको र बिरामीलाई पनि कोरोनासँगको लडाइँ लड्न ठूलो हौसला प्रदान गरेको समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताए ।

पूर्वखोला गाउँपालिका–१ सिलुवाका गणेश विक कोभिडबाट निको भएपछि अहिले तंग्रिदै छन् । अठार दिनसम्म अस्पतालको आइसोलेसन कक्षमा बसेका दुवै आँखा नदेख्ने उनी दिनप्रतिदिन हृष्टपुष्ट हुँदै गएका छन् । स्वास्थ्यकर्मीले गर्ने मित्रवत् व्यवहार, उपचारमा विशेष चासो, अस्पतालकै शय्यामा स्वास्थ्यवद्र्धक खाना खान पाएको उनले बताए । ‘घरबाट अस्पतालसम्म एकतर्फी पैदल तीन घण्टाभन्दा बढीको समय हिँड्नुपर्छ, सवारीसाधन सबै कोरोनाले बन्द थिए, पैदल हिँडेर घरबाट खाना ल्याएर बिरामीलाई खुवाउन परिवार आफन्तलाई निकै कष्ट थियो, यस्तो अवस्थामा युवाले आफैँ स्रोत जुटाएर अस्पतालकै श्ययामा घरकै खानाको आभास दिलाउने स्वस्थकर खाना खुवाउनुभयो,’ विकले भने ।
अस्पतालले बिरामीलाई गरेको मित्रवत् व्यवहार र रामपुर युवा क्लबले खाना खुवाएर बिरामीलाई छिटो निको हुन हौसला बढाएको विकले बताए । उनले भने, ‘मैले दुवै आँखा नदेखे पनि खानाको स्वाद स्वास्थ्यवद्र्धक छ, अस्पतालमा बस्दा उपचार तथा खानाका लागि आर्थिक समस्या पनि भएन, समयसमयमा अस्पतालकै शय्यामा खानाको व्यवस्था, स्वास्थ्यकर्मीको रेखदेख, औषधि उपचारले म छिट्टै नै कोरोना जित्न सफल भएँ ।’

त्यस्तै रामपुर–६ मैदानबारीका माधव पंगेनीले गत १० देखि २४ असारसम्म अस्पतालको आइसोलेसन कक्षमा रहँदा पारिवारिक वातावरणमै बसेको अनुभूति भएको बताए । युवाले गरेको यस उदाहरणीय कार्यमा उनले आफू कोभिड निको भएपछि अभियानलाई निरन्तरता दिन १ हजार ५ सय रुपैयाँ युवा क्लबलाई हस्तान्तरणसमेत गरे । सामाजिक भावना राखेर क्लबमा आबद्ध युवाले गरेको कार्यले अस्पतालमा उपचाररत बिरामी, कुरुवालाई राहत पुगेको बिरामीका आफन्त दुर्गाप्रसाद भट्टराईले बताए । ‘अस्पतालमा बसेको अनुभूतिजस्तो नि खासै भएन, घरमै बसेर आफैँले बनाएको खाना खाएको अनुभूति भएको छ, कोरोनाको महामारीमा होटल धनीले खाना खुवाउन अस्वीकार गरेपछि घरबाटै दैनिक बिहान साँझ खाना बोकेर ल्याउने सहज स्थिति छैन, यस्तो अप्ठ्यारोमा रामपुर युवा क्लबले गरेको सहयोग अति नै राम्रो छ,’ उनले भने ।

दैनिक बिहान साँझ पाँचदेखि सात जनासम्म युवा मिलेर खाना बनाउने, अस्पतालमा लिएर जाने काम गरिरहेको ट्राभल डेन्टिस्टरी नेपालका अध्यक्ष एवं होराइजन डेन्टल क्लिनिकका सञ्चालक डा शंकर श्रेष्ठले बताए । ‘हामी दैनिक फरकफरक तरकारी, फलफूल, मासु, दालको व्यवस्थापन मिलाएका छौँ, अस्पतालमा बिरामी थपघटसँगै खाना खानेको थपघट हुन्छ, कसैले मासु खाने÷नखाने हुनुहुन्छ हरेक दिन बिहान साँझ आइसोलेसनमा डा. सँग बुझेर मात्रै खानाको तयारी गरी अस्पताल पु¥याउने गरेका छौँ,’ उनले भने । युवाले गरेको यस सामाजिक कार्यले अहिले यस क्षेत्रसहित विदेशमा रहेका युवाले पनि सहयोगी हात अगाडि बढाइरहेका छन् । विभिन्न क्षेत्रबाट सहयोग रकम जुटेकाले पनि युवालाई यो काममा उत्साह थपेको छ ।

अस्पतालको कोभिड वार्डभित्र एक जना र आकस्मिक कक्षमा उपचारमा आउँदा चार बिरामीको मृत्यु भएको आइसोलेसनका स्थानीय स्रोतव्यक्ति डा. वासुदेव सुवेदीले जानकारी दिए । अस्पतालमा उपचाररत कोरोनाका बिरामीको अवस्था सामान्य रहेको र धेरै बिरामी निको भएर घर फर्किएको उनले बताए । आइसोलेसन कक्षमा चिकित्सक, नर्ससहित अन्य स्वास्थ्यकर्मी सुरक्षागार्ड गरी दैनिक पाँच÷६ रेखदेखमा अस्पतालले व्यवस्था मिलाएको छ भने बिरामी र कुरुवा पनि रहने व्यवस्था छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विजय परियारले अप्ठ्यारो परेका अवस्थामा क्लबले खानाको व्यवस्थापन गरी उदाहरणीय काम गरेको बताए । क्लबले हालसम्म करिब २ हजार ५ सयभन्दा बढी बिरामी, कुरुवा, उपचारमा संलग्न चिकित्सक र सुरक्षाकर्मीलाई खाना वितरण गरिसकेको छ ।

प्रतिक्रिया