तामाकोसी पाँचौंमा ऋण लगानी सम्झौता

काठमाडौ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय सम्झौता भएको छ । ३ कम्पनी र सर्वसाधारणबाट समेत सेयर निश्कासन गरी पुँजी संकलन गरिने आयोजनामा करिब १६ अर्ब १९ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ ।

आयोजनाको एमओयूमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, आयोजनाको प्रवद्र्धक तामाकोसीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतमले हस्ताक्षर गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितीमा आइतबार विद्युत प्राधिकरण, जलविद्युत कम्पनी र सञ्चय कोषबीच सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनामा सञ्चय कोषको मात्रै ७० प्रतिशत अर्थात करिब ११ अर्ब ३३ करोड ऋण लगानी रहने भएको छ ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी बाट जुटाइने भएको छ । तामाकोसी पाँचौं ४५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजना आकर्षक हुने विश्वास गरिएको छ । माथिल्लो तामाकोसीको विद्युतगृहबाट निस्किने पानी आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ ।

आयोजना अन्तर्गत ८ किलोमिटर लामो मुख्य सुरुङ, विद्युतगृह र करिब २ किलोमिटर २२० केभी प्रसारण लाइन लगायतका मुख्य संरचना निर्माण हुने भएका छन् । आयोजनाको विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४ जेठमै पाईसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी) को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजना २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको जनाईएको छ ।

प्रतिक्रिया