बजारभन्दा खाद्यको चामल महँगो

बझाङ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल तीन रुपैयाँ महँगो भएको गुनासो आउन थालेको छ । खाद्यले बिक्री गर्ने चामलको प्रतिकेजी तीन रुपैयाँको फरक परेपछि संस्थानको चामल नबिकेको जयपृथ्वी नगरपालिका–११ भोपुरका सुरेन्द्र जोशीले बताए । मूल्य घटाउन केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको जिल्लास्थित खाद्यका शाखा प्रमुख ईश्वरीदत्त पाण्डेले बताए ।

पाण्डेले भने, ‘सरकारी कार्यालयले कोरोना महामारीमा राहत वितरण गर्ने बेला त लिएनन्, आजभोलिको त कुरै छोडाँै, सरकारी कार्यालयका नाममा कारागारबाहेक अरू कुनैले पनि चामल लिँदैनन् ।’ खाद्यको कार्यालयमा पुग्नका लागि यातायातको पहुँच पनि छैन । खाद्यको शाखा कार्यालय देवलबाट गत आवमा १ सय ५३ क्विन्टल चामल मात्र बिक्री भएको छ । जिल्लामा शाखा कार्यालय र तीन डिपो गरी चार बिक्री केन्द्रमध्ये सबैभन्दा बढी साइपाल गाउँपालिकाको काँडा डिपोबाट बर्सेनि चार हजार क्विन्टल चामल बिक्री हुने गरेको छ ।

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै ग्राहक जाने गरेका पाइएको छ । शाखा कार्यालय, डिपो कार्यालय बिसौना र तलकोटबाट प्रतिकिलो ४५ र काँडा डिपोबाट प्रतिकिलो ५० रुपैयाँमा अरुवा मोटो चामल बिक्री हुँदै आएको छ । यही चामल बजारमा प्रतिकिलो ४२ रुपैयाँमा बिक्री हुने गरेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । संस्थानको चामलको मूल्य महँगो भएको जनगुनासो आए पनि खाद्यका प्रमुख पाण्डेले केन्द्रबाटै निर्धारण भएर आएकाले मूल्य केन्द्रबाट परिपत्र नआउँदासम्म शाखाले घटबढ गर्न नसकिने बताए ।

प्रतिक्रिया