उपेन्द्र यादवलाई दियो निर्वाचन आयोगले जसपाको आधिकारिकता

काठमाडौं । विवादमा रहेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दिएको छ ।यादवको पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको स्रोतले जनाएको छ ।

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो । जसपाका अध्यक्ष यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।

जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ जना सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् । त्यस्तै पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ जना सदस्यले हस्ताक्षर गरेका थिए ।

हाल जेल सजाय भोगिरहेका निलम्बित जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो ।

प्रतिक्रिया