हराएका तीन जना बालबालिकालाई भारतबाट उद्धार

राँझा । बाँकेको कोहलपुरबाट ६ महिनाअघि हराएका तीन जना बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो ।

कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारुका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी छन् । रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज परिवारको जिम्मा लगाइँदै छ ।

भारतको बरेलीस्थित नारी निकेतन अनाथ आश्रममा रहेका उनीहरुलाई आवश्यक कागजातको प्रमाण जुटाएर फिर्ता ल्याइएको हो । उनीहरुसँगै बैतडीका १ र दाङका १ गरी थप दुई बालक पनि सोही बालगृहमा राखिएको वडाध्यक्ष थारुले जानकारी दिए ।

६ महिनाअघि कोहलपुरबाट हराएका बालबालिका नेपालगञ्जस्थित जमुनाह नाकाहुँदै रुपैडिहमा पुगेका जनाइएको छ । त्यहाँबाट भारतीय ट्रकमा बसेर बरेली पुगेका हुन् । बरेली पुग्नुभन्दा दुई–तीन किलोमिटर वरै ट्रकले बालबालिकालाई झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको थियो ।

नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारत गएर बालबालिका अलपत्र पर्ने गरेका छन् । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले साथीको लहलहैमा घर छोडेर हिँडेका बालबालिका जोखिमपूर्ण यात्रा गरी भारतका विभिन्न शहरमा अलपत्र पर्ने गरेका बताए ।

उनका अनुसार यसअघि पनि भारतको बहराइच, लखनउ, दिल्लीलगायतका स्थानमा अलपत्र परेका बालबालिकाको उद्धार गरी पारिवारिक पुनःमिलन गराउने काम भएको छ ।

प्रतिक्रिया