नेपाललाई साफ आयोजना गर्न प्रस्ताव

काठमाडौं । नेपालले दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव पाएको छ ।
शुक्रबार बसेको साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो । त्यससँगै सहभागी टोलीहरुले प्रतियोगिता अक्टोबरमा गर्न सहमति गरेका थिए । आयोजनाका लागि शुक्रबारको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए ।

आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव पाएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले अब नेपालले विस्तृत विवरण साफलाई प्रस्तुत गर्ने बताएका छन् । आयोजना बारे अन्तिम निर्णय भने साफले नै गर्नेछ । प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने सम्भावना छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन । भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता नहुने भएको हो । आयोजना दावी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने देखिन्छ ।

यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो । तर उक्त स्वीकृति पाएको दुई दिन नबित्दै सरकार परिवर्तन भएको थियो । यसका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको थियो । सरकारबाट सकारात्मक सहयोग पाउनेमा एन्फा आशावादी छ । यता नेपालले आयोजना गर्ने पक्का हुँदा राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने राजीनामा दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया