पोखरेलको नियात्रा ‘फकलीको गाउँ’

काठमाडौं । लेखक लेखनाथ पोखरेलद्वारा लिखित नियात्रासंग्रह ‘फकलीको गाउँ’ बजारमा आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका विषयलाई विषयवस्तु बनाएर लेखिएको कृति पाठकमाझ आएको हो । यात्रा वृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाइस लेखको सँगालोको रुपमा आएको कृतिमा लेखकले विविध पक्षलाई केलाएका छन् । पुस्तकमा ऐँसेलुखर्कको चिठ्ठा, मैले देखेको मधेश, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुङ्गोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोँच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खास्टो, हिमालपारिको जिल्ला जाँदा र मेलवर्न घुम्न जाँदा जस्ता शीर्षकका लेख रहेका छन् ।

ती लेखमा यात्रा गर्दा देखेका, भोगेका, अनुभव गरेका र ऐतिहासिक तथ्यलाई कलात्मक रुपमा लेखकले पस्किएका छन् । धरणीमा मेरो यात्राबाट सुरु गरिएको कृतिमा सम्बन्धित केही तस्बिर समेत राखिएको छ । पुस्तकमा लेखकले आफ्नो बाल्यकालदेखि यौवनसम्मका स्मृति, विद्यार्थीकालका अनुभव र अनुभूतिहरू, जागिरे जीवनका भोगाइ र अवकाशप्राप्त जीवनका अनुभव जस्ता चार कालखण्डलाई बडो रोचक, सन्देशमूलक, तथ्यपरक र ज्ञानबद्र्धक रुपमा प्रस्तुत गरेको साहित्यकार खेमनाथ दाहालले बताए । उनले भने, ‘लेखक लेखनाथले पुस्तकमा अत्यन्तै सरल भाषा र पठनीय शैलीमा ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, राजनीतिक र राष्ट्रियचेतले ओतप्रोेतयुक्त यात्रा विवरणका रुपमा प्रस्तुत गर्नुभएको छ ।’

लेखक पोखरेलले आफूले देखेका भोगेका अनुभूति र यात्रा विवरणलाई कृतिमा उतार्ने कोशिस गरेको बताए । उनले भने, ‘आफ्नो अतीतलाई उतार्ने र आफ्नो स्मृतिलाई तिखार्ने प्रयासपछि बितेका क्षणका अनगिन्ती कुराको स्मरणको ठूलै सँगालो आफूभित्र जम्मा हुन पुग्यो, ती सबै संस्मरणलाई लिपिबद्ध गर्ने जमर्कोले यो कृति तयार भएको हो ।’ सञ्चारकर्मी कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण÷आकृति÷वर्णविन्यास रहेको छ । सावित्री पोखरेल प्रकाशक रहेको २१४ पृष्ठको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया