चौँरी र याक संरक्षण गर्न बिमा

ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रभित्र रहेका चौँंरी र याकको संरक्षणका लागि बिमा गर्न थालिएको छ । वन्यजन्तुको आक्रमणबाट ठूलो क्षति हुने भएपछि चौँरी र याकको बिमा गरिएको हो । कञ्चनजंघा संरक्षण क्षेत्रमा वन्यजन्तुले चाँैरी याक मारेर खाइदिने भएपछि पशुधन बिमा कार्यक्रममार्फत संरक्षण क्षेत्रका चौंरी याकको बिमा गरिएको बताइएको छ । गत आर्थिक वर्षमा ८ सय ७५ वटा चौँरीयाकको बिमा गरिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन लिम्बूले बताए ।

विश्व वन्यजन्तु कोष र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा चौंरीयाकको बिमा गरिएको उनले बताए । समुन्द्र सतहदेखि ३ हजार ५ सय मिटरदेखि पाँच हजारसम्मको उचाइमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्रका हिमाली समुदायहरूको प्रमुख पेसा पशुपालन हो । संरक्षण क्षेत्रमा वन्यजन्तुले घरपालुवा पसुहरू सिकार गरेर मार्ने भएकाले पशुपालकलाई राहत उपलब्ध गराउने उद्देश्यले बिमा कार्यक्रम सञ्चालन गरिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक सचिन हेल्लोकले बताए ।

संरक्षण क्षेत्रमा चार वटा हिउँचितुवा उपसमिति गठन गरिएको छ । ती समितिलाई हिउँचितुवाको अनुगमनको जिम्मेवारी दिएको छ । समितिले हिउँ चितुवाको आहाराका रूपमा मानिएको नाउरको पनि रेखदेख गर्ने गरेको घुन्सा हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए । उनका अनुसार हिउँ चितुवाले चौँरीयाकलाई सिकार गरेर खाने गरेकाले पशुधन कार्यक्रममार्फत याकचौँरीको बिमा गरिएको हो ।

फक्ताङलुङ गाउँपालिका–६ घन्सा हिउँ चितुवा उपसमितिमा बिमाका लागि २६ लाख ३३ हजार रुपैयाँ कोषमा जम्मा भएको छ । यस समितिमा गत आर्थिक वर्षमा ३६ वटा चौंरीयाकको बिमा गरिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयको तथ्यांकमा उल्लेख छ । एउटा चाँैरी वा याकको बिमा गरेबापत प्रिमियम शुल्क तीन सय रुपैयाँ समितिको कोषमा जम्मा गर्नुपर्ने हुन्छ । पशु बिमाबापत शुल्क बुझाएको प्रिमियम तीन वर्षमा पशुपालकले व्याजसहित फिर्ता पाउने नियम रहेको लिम्बूले बताए ।

फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोला हिउँ चितुवा उपसमितिमार्फत पशु बिमाका लागि २१ लाख ६९ हजार ५३ रुपैयाँ कोषमा जम्मा छ । यस समितिमार्फत ४ सय ३५ चौंरीयाकको बिमा गरिएको उपसमितिका अध्यक्ष नुपु शेर्पाले बताए । यस समितिमा प्रतिपशुबापत सय रुपैयाँ बिमा शुल्क समितिको कोषमा जम्मा गर्नुपर्ने नियम बनाएको उनले जानकारी दिए । याङमा हिउँचितुवा उपसमितिमा १५ लाख ८६ हजार रुपैयाँ पशुधन बिमाका लागि जम्मा भएको छ । यस क्षेत्रमा चार सय चौंरीयाकको बिमा गरिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयले जनाएको छ । याङमा हिउँ चितुवा उपसमितिमा प्रतिचौंरीयाक बिमा गरेबापत प्रिमियम शुल्क ५५ रुपैयाँ समितिको कोषमा जम्मा गर्नुपर्ने नियम रहेको समितिका अध्यक्ष फिन्जो शेर्पाले बताए ।

त्यस्तै सिरिजंघा गाउँपालिका—७ याम्फुदिन हिउँ चितुवा उपसमितिमा २४ लाख ५२ हजार ६ सय ५२ रुपैयाँ कोषमा जम्मा रहेको परिषद्का कार्यक्रम सहायक जितेन लिम्बूले बताए । यस समितिमा विगतमा चौंरीयाकको बिमा गरे तापनि आर्थिक वर्ष ०७७÷७८ मा नवीकरण नगरेको उनले बताए । बिमा गरेको पशुलाई हिउँचितुवाले खायो वा मा¥यो भने मूल्यांकन समितिले अनुगमन गरेर प्रतिचौंरीयाक आठ हजार रुपैयाँका दरले बिमा भुक्तानी गर्दै आएको कार्यक्रम सहायक लिम्बूले बताए ।

विश्वको दुलर्भ सूचीमा पर्ने हिउँ चितुवाले हिमाली क्षेत्रका पशुहरूमाथि विगतदेखि नै आक्रमण गर्दै आएकाले पशुपालकहरूको ठूलो क्षति भए पनि थोरै राहत प्रदान गर्नका लागि पशुधन बिमा कार्यक्रम सञ्चालनमा ल्याएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । हिमाली बस्तीमा हरेक समुदायको जीविकोपार्जनमा सहजता ल्याउनका लागि अझ प्रभावकारी बनाउँदै लाने योजना रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए ।

बिमा कम्पनीहरूसँग सहकार्य गरेर पशुपालकहरूको पशुको बिमा कार्यक्रमलाई आगाडि बढाउने उनले बताए । पशु अस्पताल ताप्लेजुङसँग पनि आगामी दिनमा सहकार्य गरेर काम गर्ने योजना रहेको र सहकार्यका लागि छलफल भइरहेको अध्यक्ष फेम्बुले जानकारी दिए । उनले भने, ‘अहिले हिउ चितुवाले मारेको भएमात्र बिमाको रकम भुक्तानी हँुदै आएको छ । तर आउने दिनमा सबै खाले वन्यजन्तुले चौंरीयाकमाथि क्षति गरेमा बिमा भुक्तानी गरिदिने योजना छ ।’

एउटा याकको मूल्य ९० हजारदेखि एक लाख १० हजार रुपैयाँसम्म पर्ने गरेको छ तर वन्यजन्तुले कति बेला आएर मार्छ, थाहै पाइँदैन स्थानीयवासीको गुनासो छ । अध्यक्ष फेम्बुका अनुसार यो क्षेत्रको कञ्चनजंघा हिमाल आधार शिविरसम्म याक र चौंरीका गोठ हुन्थें । वन्यजन्तुकै कारण आजित भएर किसानले छोडेको उनले बताए । ‘एक दशकअघिसम्म प्रत्येक घरको गोठ थियो,’ उनले भने, ‘अहिले पुस्तौंदेखिको पेसा लोप हुने अवस्थामा पुग्न थालेको छ ।’ चौंरी पालेर घिउ, छुर्पी र चमर बिक्री गर्दै आएका यो क्षेत्रका बासिन्दा अहिले कोही पर्यटन र कोही होटल व्यवसायमा लागेका छन् भने कोही विकल्प खोज्दै छन् ।

हिउँचितुवाले क्षति गरेमा किसानले बिमाबापत आठ हजार रुपैयाँ पाउँछन् । तर त्यति राहतले केही नपुग्ने किसानको गुनासो छ । ‘एउटा याक, चौंरी मर्दा एक लाखसम्म क्षति हुन्छ । तर, बिमाबापत आठ हजार रुपैयाँ मात्रै पाइन्छ, यो रकम कागज मिलाउँदै सकिन्छ,’ किसान भन्छन्, ‘बिमा नाम मात्रैको छ ।’ बिमामा भने जस्तो सेवा सुविधा नपाएकोमा किसानले भने गुनासो गरेका छन् । किसानले व्यहोर्ने क्षतिका आधारमा बिमा र क्षतिपुर्ति पाउनु पर्ने उनीहरूको माग छ ।

कञ्चनजंघा संरक्षण क्षेत्रका कार्यालय प्रमख गणेशप्रसाद तिवारीका अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा अहिले १९ देखि २४ वटासम्म हिउँचितुवा रहेको अनुमान गरिएको छ । तर, त्यसको यकिन तथ्यांक भने छैन ।

प्रतिक्रिया