तराइ–मधेसको समृद्धिको आधार बन्दै हुलाकी मार्ग

हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई–मधेस क्षेत्रको समृद्धिकै आधार बन्न थालेका छन् । पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडक (फिदर रोड) ले यहाँको जनजीवन सजिलो बनाउँदै लगेको छ । आयोजनाअन्तर्गत पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै उत्तर दक्षिणमा ‘फिदर रोड’ निर्माण कतिपय सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै सहायक सडकका रूपमा रहेका १० मध्ये नौ सडक पूरा भइसकेका आयोजनाले जनाएको छ । एउटा सडक बाँकी रहेकामा दुई प्याकेजमा काम भइरहेको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए । दुई प्याकेजमध्ये पनि एउटा पूरा भएको छ भने एउटा बाँकी छ । केही समय पहिले मात्रै भारतीय दूतावासले सम्पन्न सडक सरकारलाई हस्तान्तरण गरेको थियो । उनले भने, ‘बाँकी सडक पनि ठेक्का भइसकेको छ ।’

‘फिदर’ सडक तराई–मधेसमा आवतजावत र ढुवानीमा कोसेढुंगा बन्दै गएको आयोजनाका प्रमुख बिसुरालले बताए । तराईका कुनै पनि भाग नछुट्ने गरी बलियो सञ्जाल बनाइएको उनले जानकारी दिए । उनले भने, ‘हुलाकी राजमार्गले पूर्वी तराईले पश्चिमसँग जोड्छ भने उत्तर दक्षिणले सिंगो तराईलाई जोडेको छ ।’ आयोजनाअन्तर्गत उत्तर–दक्षिण सडकमध्ये मोरङमा कानेपोखरी–रङ्बेनी २५ किमि र सप्तरीमा कल्याणपुर–बसाइन २२ किमि पूरा भइसकेको छ । धनुषामा वीरेन्द्रबजार–यदुकुवा–महिनाथपुर २५ किमि लम्बाइको सडक सम्पन्न भइसकेको छ । धनुषाको १७ किमि लम्बाइको जनकपुर–यदुकुवा सडक सम्पन्न भएको छ । महोत्तरीको २७ किमिको जलेश्वर–हर्दी सडक र झण्डै २५ किमिको माइथान–गौशाला बजार–सम्सी सडक सम्पन्न भएको आयोजनाले जनाएको छ । दाङको ३३ किमि लम्बाइको लमही–कोइलाबास सडक सम्पन्न भइसकेको छ ।

बाराको तामागढी–सिमरौनगढ सडक ४० किमि सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । बाराकै ३३ किमि लम्बाइको मानमत–कलैया–मटिअर्वा सडक निर्माण सम्पन्न भइसकेको छैन । भारतीय सहयोगमा पहिले नै निर्माण गर्ने भनिएको सडक विभिन्न समस्याका कारण अहिले भर्खरै ठेक्का भएको छ । पहिले बाराको कलैया बजारमा स्थानीयवासीले घर हटाउन नदिएकाले सडक निर्माण हुननसकेको प्रमुख बिसुरालले बताए । भारतीय सहयोगमा निर्माण भएको स्थानमा मुआब्जा दिइएको भए पनि कतिपय स्थानीयवासीले मुआब्जासमेत लिन मानेका थिएनन् । उनले भने, ‘उनीहरूले गर्न चाहेको समयमा घर हटाउन नसकेपछि अहिले भारत सरकारले त्यो भागमा काम नगर्न चाहेको छ ।’
कलैया बजारमा झण्डै चार किमि लम्बाइमा सडक निर्माण अवरुद्ध रहेको आयोजनाले जनाएको छ । आयोजनाले कोसिस गर्दा अदालतमा मुद्दा भएकाले निर्माण अवरुद्ध भएको थियो । अहिले सरकारले लगानी गर्ने गरी ठेक्का सम्झौताका लागि सूचना निकालिएको प्रमुख बिसुरालले बताए ।

कलैया बजार चार लेनमा निर्माण गर्न लागिएको छ । त्यस क्षेत्रमा निर्माणस्थलमा रहेका बिजुली, खानेपानी, टेलिफोन लगायतका पूर्वाधार सबै हटाइएको छ । उनले भने, ‘निर्माणस्थल खाली भइसकेकाले अब निर्माण अघि बढाउन सकिने देखिएको छ ।’ पर्सामा ६० किमि लम्बाइको वीरगञ्ज–ठोरी सडक पाँच किमि कालोपत्र हुन नसकेको आयोजनाले जनाएको छ । सडक अहिले ग्राभेलसम्म भएकाले स्थानीयवासीलाई आवतजावतमा सजिलो भएको छ । चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण सो खण्डमा निर्माण हुन नसकेको प्रमुख बिसुरालले बताए । जम्मा ६० किमि सडक एउटा २५ र अर्काे ३० गरी दुई प्याकेजमा निर्माण अघि बढाइएको थियो । २५ किमिको प्याकेज सम्पन्न भइसकेको छ भने ३० किमिमा निर्माण बाँकी छ । उनले भने, ‘सडक आगामी दसैँसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । ०६५÷६६ सालमा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो । विभिन्न कारणले त्यो मोडालिटिमा काम गर्न नसकिएको उनले बताए ।

भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव ०७३÷७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेको थियो । उनले भने, ‘त्यसपछि मात्रै फिदर रोडले गति पाएको थियो ।’ त्यस बेलादेखि नै १० सडकमा ३ सय ५ किमि पुल भारत सरकारले र बाँकी नेपाल सरकारले बनाउने सम्झौता भएको थियो । ‘फिदर सडक’ मा नै ३७ पुल रहेका छन् । भारतीय पक्षले निर्माण गर्ने ३ सय ५ किमि पुलमध्ये सबै उत्तर–दक्षिण सडकमा पर्छ भने वीरगञ्ज–ठोरी सडक हुलाकी राजमार्गकै पूर्व–पश्चिममा पर्छ ।

‘फिदर सडक’ ८ सय ८१ किमि लम्बाई रहेकामा २ सय ४५ किमि भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने प्रमुख बिसुरालले बताए । भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ । झण्डै ६ सय किमि सडक निर्माणाधीन रहेको उनले बताए । उनले भने, ‘त्योमध्ये पनि झण्डै एक सय किमि ठेक्का लाग्न बाँकी छ ।’ सरकारले आव ०७३÷७४ देखि निर्माणको जिम्मेवारी लिएकामा त्यसपछि फिदर सडक पहिचान गरेर ठेक्का हुँदै काम अघि बढाइएको छ । राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव ०७९÷८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । हुलाकी राजमार्गको पूर्व–पश्चिम सडक निर्माणाधीन छ भने कतिपय उत्तर–दक्षिण सडक निर्माणको क्रममा रहेका छन् । अहिलेसम्मको निर्माणको अवस्था हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न हुने उनले जानकारी दिए । उनका अनुसार आयोजनाको नियन्त्रण बाहिरको अवस्थामा मात्रै निर्धारित समयभन्दा ढिला हुनेछ ।

उनले भने, ‘कोभिडका कारणले गर्दा तोकिएको अवधिमा नहुन सक्ला तर हामीले गर्ने काम गरिरहेका छौँ ।’ हुलाकी राजमार्गलाई तराई–मधेसको समृद्धिसँग जोडेर सुरु गरिएको हो । मधेसमा देशभरको झण्डै आधा जनसंख्या बसोवास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ । त्यस क्षेत्रको व्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ ।

पूर्व–पश्चिम राजमार्गबाट सुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पु¥याउन निर्माण गरिएको छ । राजमार्गले पूवदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ । राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि तराई–मधेस पूर्ण रूपमा सुगम हुने प्रमुख बिसुरालले बताए । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिदर सडक’ बाहेक अरू निकायबाट पनि उत्तर–दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ । सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुने उनले बताए ।

हुलाकी राजमार्गजस्तै ‘फिदर सडक’ पनि डबल लेनमा निर्माण अघि बढाइएको छ । सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ । जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो । देशभरका निर्माणाधीन धेरै राष्ट्रिय राजमार्ग जस्तै सो आयोजनामा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वो) को समस्या रहेको छ । उत्तर–दक्षिणमा ‘फिदर’ सडक १५/१५ मिटरमा चौडा गर्ने लक्ष्य लिइएको प्रमुख बिसुरालले बताए । उनका अनुसार भारतीय सहयोगमा निर्माण भएका स्थानमा मुआब्जा वितरण भए पनि सरकारले निर्माण गरेका ठाउँमा स्वतस्फुत छाड्न लगाइएको छ । जग्गामा मुआब्जा नदिने हुँदा धेरै ठाउँमा जग्गाको समस्या भएको छ ।

उनले भने, ‘जस्तोसुकै समस्या भए पनि स्थानीयस्तरमा समन्वय गरेर दुई लेन कायम गरिएको छ ।’ फिदर सडक दुई लेनमा निर्माण गर्ने भनिए पनि आवश्यकताअनुसार कतिपय स्थानमा चार लेनसम्म निर्माण भइरहेको आयोजनाले जनाएको छ । ठूला बजारमा चार लेनमा सडक निर्माण गरिएको प्रमुख बिसुरालले बताए । पहिले दुई लेन रहेको विराटनगर–रेंगेली चार लेनमा विस्तार गरिएको छ । मोरङमै सुनसरीसम्मको सडक पनि चार लेनमा निर्माण गर्न लागिएको छ । उनले भने, ‘त्यहाँका चार किमि सडक बनाउन भर्खर ठेक्का गरिएको छ ।’ कपिलवस्तुमा तौलिहवा पश्चिमतर्फको सडक पनि चार लेनमा निर्माण अघि बढाइएको छ । निर्माण सुरु गर्दा सानो बजार भए पनि बजार र बस्ती विकास हुने देखिएकाले यहाँ निर्माण अघि बढाइएको हो ।

प्रतिक्रिया