राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको अश्लील टिकटक बनाउने एकजना पक्राउ

काठमाडौं । प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक बनाएको आरोपमा झापामा एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर नगरपालिका – ६ बर्मेली टोलका ३८ वर्षीय विकास भनिने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ । पक्राउ पररेका घिमिरेले केही दिन अगाडि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको विषयमा अश्लील टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

उनले सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको प्रहरीको भनाइ छ ।

उजुरी परेपछि प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै यही साउन ७ गते पक्राउ गरी साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं पठाइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया