टोकियाे ओलम्पिकमा जुडोकी सोनिया पहिलो खेलमै पराजित

काठमाडौं । टोकियो ओलम्पिकमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । उनी रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भइन् । आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्यो । कल्पनाले प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भइन् ।

महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै उनले राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुदमा पनि कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान राखेकी थिइन् । जापानको राजधानी टोकियोमा शुक्राबार ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिकरुपमा सुरु भएको हो । उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी थिइन् । ३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

प्रतिक्रिया