बादशाहलाई घोडाबाट झारियो तर अहंकार उस्तै रहेछ : नेपाल


ललितपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले राजामहाराजाको शैलीमा प्रस्तुत भएको बताएका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रले गरेको कार्यक्रममा नेपालले ओली सुध्रिएलान् भनेर आफूले संयमता अपनाइरहेको जिकिर गरे । उनले भने, ‘हिजो मात्रै राजामहाराजाको शैलीमा माधव नेपालसहितलाई आममाफी दिइन्छ भनेको सुनेँ । महाराजाधिराजबाट आदेश आयो, आममाफीको हामी खुसी भयौँ गद्गद् भयौँ ।’

नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती भयो, सच्याए भन्लान् भनेको तर त्यस्तो नभएको बताए । उनले भने, ‘डोरी जल्यो तर गाँठो उस्ताको उस्तै छ’, भनेजस्तै म त मान्छे सुध्रिएलान् भनेर बस्छु, प्रवृत्ति उही छ । एकता होला भनेर आश गरेँ । हिजो पनि ख्याल गर्दै मिठो मिठो बोलेँ । ख्याल गरेर बोलिरहेको छु । जिब्रो हाडले छेकेको हुँदैन । जिब्रोले बोल्दिहाल्ला भन्यो, एउटा शब्द पनि तलमाथि नहोस् है भनेँ । तर उताबाट उही राजा महाराजाको शैलीमा आदेश आएछ ।’

नेता नेपालले आफूलाई तर्साउन ओली पक्षले घर घेर्न मान्छे पठाएको आरोप लगाए । उनले भने, ‘माधव नेपालको घरको छेउमा मारमुंग्रेहरू २५ जना बसेका थिए । यसो हेरेँ उपरखुट्टी लगाएर बसेका । कस्ता कस्ता कहाँ गए, यिनीहरू आएर माधव नेपाल तर्सिंदैन । म विशेष धातुले बनेको छु । म कुनै हालतमा डराउँदिनँ ।’ उनले कम्युनिष्टहरू विशेष धातुले बन्ने भएकाले कसैको धाकधम्कीबाट नडराउने बताए । नेपालले भने, ‘बादशाहलाई घोडामा झारियो तर सुध्रिएनन् । अहंकार कस्तो हुँदोरहेछ भने जति धैर्य गर्दा पनि उही शैली र उही तरिका देखियो ।’

उनले आफूहरूले लोकतन्त्र र संसद् जोगाएको धारणा राखे । ओलीको स्वेच्छाचारी प्रवृत्ति र लोकतन्त्रविरोधी कार्यशैलीका कारण समस्या आएको बताउँदै उनले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि हामी लागिरहनेछौँ ।’ १ सय २१ सिटको कम्युनिस्ट पार्टी ८३ सिटमा झरिसक्दा पनि नचेतेको विचार व्यक्त गर्दै उनले लोकतन्त्र र संविधान जोगाउन आफूहरू लागिरहने बताए । नेता नेपालले आफूले सिंगो कम्युनिस्ट पार्टी एकताबद्ध बनाएर जान चाहेको बताउँदै दलाल पुँजीपति वर्ग त्यसमा पनि आसेपासे पुँजीवादले कम्युनिस्टलाई नराम्ररी गाँजेको जिकिर गरे ।

प्रतिक्रिया