‘हंगामा २’ को रिलिज नरोकिने

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी १४ वर्षपछि ‘हंगामा २’ मार्फत चलचित्र अभिनयमा फर्किएकी छन् । उक्त चलचित्र २३ जुलाई अर्थात शुक्रबार डिज्नी प्लस र हटस्टारबाट प्रदर्शनमा आउँदै छ । कमब्याप चलचित्र प्रदर्शनको केही दिनअघि अभिनेत्री शिल्पाका श्रीमान् राज कुन्द्रा अश्लील भिडियो निर्माणको आरोपमा पक्राउ परेका छन् । यो घटनाका कारण शिल्पाको कमब्याक चलचित्रको प्रदर्शन रोकिन सक्ने खबर बाहिरिएको थियो । तर चलचित्रका निर्माता रतन जैनले प्रदर्शन नरोकिने जिकिर गरेका छन् ।

निर्माता जैनले हालै एक सञ्चार माध्यमसँग कुरा गर्दै भने, ‘राज कुन्द्राको केससँग ‘हंगामा २’ को के सम्बन्ध छ र ?’ शिल्पाको श्रीमानलाई आरोप लागेको हो, शिल्पालाई होइन ।’ उनले अभिनेत्री शिल्पा चलचित्रको एक कलाकार मात्र भएको र उनले चलचित्रको प्रमोसन बाहेकको सबै काम पूरा गरेको बताए । जैनले भने, ‘शिल्पाको नाम जबर्जस्त राज कुन्द्राको केसमा जोडिएको हो । उनको त्यसमा केही सम्बन्ध छैन । मैले एक राम्रो फिल्म बनाएको छु । मानिस फिल्म कन्ट्रोवर्सीका कारण होइन कन्टेन्टका कारण हेर्नेछन् ।’ ‘हंगामा २’ २००३ मा आएको ‘हंगामा’ को सिक्वेल हो । यो चलचित्रमा अफताव शिवदासनी, अक्षय खन्ना र रिमी सेनको मुख्य भूमिका रहेको थियो । प्रियदर्शनको निर्देशन रहेको ‘हंगामा २’ मा शिल्पा, परेश रावल, मिजान जाफरी र प्रनिता सुभाषको प्रमुख भूमिका छ । आशुतोष राणा, राजपाल यादव र जोनी लिवरको समेत चलचित्रमा अभिनय छ ।

प्रतिक्रिया