औद्योगिकिकरणबाट व्यापार घाटा न्युनिकरण : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको व्यापार घाटालाई निराकरण गर्ने मुख्य आधार नै औद्योगिकिकरण भएको बताएका छन । बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले त्यस्तो बताएका हुन । उनले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रूपमा नयाँ संकल्पको खाँचो रहेको पनि सो अवसरमा बताए । अर्थमन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरूको सञ्जाल निर्माण गर्दै ठुला उद्योग स्थापना गर्नु आवश्यक रहेकोमा जोड दिए। औद्योगिक क्षेत्रमा विशेष लगानी नगरिकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उनको भनाइ छ । उनले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने कार्य अहिलेको चुनौती भएको समेत बताए ।

यसलाई बदल्नका लागि नीतिगत, योजनागत रुपमा, कार्यन्वयनका दृष्टिकोणले र प्रतिवद्धताका दृष्टिकोणले नयाँ संकल्पको आवश्यकता भएकोमा उनले जोड दिए । स्थानिय स्तर, प्रदेश स्तरमा सना उद्योगको व्यापक सञ्जाल निर्माण गरेर ती उद्योगको बीचमा फेरि ठूला उद्योग स्थापना गर्नुपर्ने आवश्यकतालाई मन्त्री शर्माले उजागर गरे । अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनःस्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताएका छन ।

कार्यक्रममा उद्योगी बिनोद चौधरीले फेरी देश प्रजातान्त्रिक पक्षधरको हातमा पुगेको बताए । उनले नेपालमा लगानी गर्ने विदेशीले दलाल खोज्न पर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए । २०४६ सालमा नेपाली काँग्रेसले गरेको लाइसेन्स र टिप्पणीतन्त्रको अन्त्य हुँदा अहिले नेपाली अर्थतन्त्र यसैमा अडिएको उनको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गरेको विश्वासको मतसँगै दोस्रो चरणको आर्थिक सुधारलाई अघि बढाउने अपेक्षा राखेकोमा उनको भनाई थियो । उनले भने,‘पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भनिसक्नु भएको र साढे पाँच करोड खोपमध्ये डेढ करोड खोप खरिद गर्ने कुरा संसदमा तात्कालिन सरकारको प्रवक्ताले संसदमा भनिसकेको र ६८ लाख खोप आएको, खोपको विषयमा चीन, अमेरिका भारत जस्ता देशसँगै नेपालले जटिल प्रतिस्पर्धा गरिरहेका हुँदा प्रत्येक नेपालीलाई यहि वर्षको अन्त्यसम्म खोप दिलाउँछ भन्ने कुरामा निजी क्षेत्र विश्वस्त छ ।’ दक्षिण एसियाको सबैभन्दा आकर्षक लगानी योग्य देश रहेको कुरालाई वाहिर ल्याउन जरुरी रहेको भन्दै चौधरीले प्रजातान्त्रिक सरकार देशको सुन्दरता भएको बताए ।

प्रतिक्रिया