पूर्णकलाको मौलिक तीज गीत ‘पुतली भुरुभुरु’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका पूर्णकला बिसीको तीज कोसेली गीत ‘पुतली भुरुभुरु’ सार्वजनिक भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको माहौलले छोइसकेको अवसर पारेर गीत ल्याएको गायिका बिसीले बताइन् ।

उक्त गीतमा उनलाई गायक नन्दु परियारले आवाजमा साथ दिएका छन् । त्यस्तै, ग्रुपमा रहेर शान्ता रानी परियार, सरिता सुनार, नविन परियार र अशोक तामाङले पनि पूर्णकला र नन्दुलाई आवाज थपिदिएका छन् ।

नन्दु परियारले नै शब्द रचना तथा संगीत भरेको गीतको भिडियोलाई गायिका पूर्णकला बिसीको आफ्नै युट्यबमार्फत आज (बुधबार) सार्वजनिक गरिएको हो । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सुनिल परियारको संगीत संयोजन रहेको छ ।

त्यस्तै, गीतको भिडियोमा मोडल टिका जैसी र दुर्गेश थापाले दमदार नृत्यको साथ मुख्य अभिनय गरेका छन् भने उनिहरुको साथमा अरु पनि धेरै कलाकारहरुले नृत्य गरेका छन् । प्रकाश भट्टले निर्देशन गरेको उक्त भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माको सम्पादन रहेको छ ।

यस पछिल्लो समय सार्वजनिक गीत र भिडियोमा गाउँघर मेलापातमा गुञ्जिने मौलिक शब्द र चलनचल्तीका पहिरनलाई विशेष प्राथमिकता दिइएको गायिका बिसीले जिकिर गरिन् ।

युट्युबमार्फत सार्वजनिक गरेको छोटो समयमा उक्त गीतलाई दुई हजारभन्दा धेरै पटक हेरिएको छ । यसभन्दा अगाडि पनि हजारौँ लोकदोहोरी र दर्जनौँ तीजका गीत ल्याएर गायिका बिसी लाखौँ दर्शक श्रोतामाझ लोकप्रिय छन् ।

प्रतिक्रिया