मत-विमत

महान् तथा संघर्षशील राजनीतिज्ञ मण्डेला

लोकनारायण सुबेदी २०७८ साउन ६ गते ७:५३ मा प्रकाशित

लोकनारायण सुबेदी

नेल्सन मण्डेलाले माक्र्सवादप्रति आफ्नो विमति नरहेको र त्यो प्रेरणाको स्रोत भएको कुरा स्वीकारेका थिए नै । अनि अन्ततः कम्युनिस्ट बनेर उनी संघर्षलाई सही दिशा र अग्रगति दिन तत्पर भएका हुन् भन्ने कुरा स्वयं उनले स्वीकारेको र कसैले विमति जनाएको छैन र थिएन ।

गत आइतबार अर्थात १८ जुलाई विश्वका महान रंगभेद विरोधी, उपनिवेशवाद बिरोधी नेता नेल्सन मण्डेलाको १०३औँ जन्मदिनलाई धेरै देशमा उत्सवका रूपमा मनाइयो । नश्लभेद, रंगभेद र जातिभेद विरोधी संघर्षमा मण्डेलाले पु¥याएको अतुलनीय योगदान नै उनलाई विश्वले सम्झने र सम्मान गर्ने सबैभन्दा महत्वपूर्ण कारण हो । त्यसका लागि उनले अल्पसंख्यक गोराहरूको क्रूर दमनकारी र विभेदकारी शासन सत्ताको विरुद्ध संघर्ष गर्दा अविच्छिन्न रूपमा २७ वर्षको कठोर कारावास जीवन बिताउनुपरेको थियो । वास्तवमा नेल्सन मण्डेलाको यही दृढनिश्चयी र प्रेरणास्पद संघर्षमय जीवनगाथाले गर्दा नै आज पनि विश्वमा उनी स्मरणीय र आदरणीय छन् ।

यसका अतिरिक्त रंगभेद र जातिभेदबाट अफ्रिकालाई मुक्त गराउने ती महान व्यक्तित्वले चाहेको भए आजीवन दक्षिण अफ्रिकाको शासन सत्तामा जमेर बस्न सक्थे । उनी एक लोकप्रिय नेता थिए । तर, उनले आफ्नो लोकप्रियताबाट व्यक्तिगत फाइदा उठाउने सत्तामोह बिल्कुलै देखाएनन् । दक्षिण अफ्रिकाको इतिहासमा काला जातिको पहिलो राष्ट्रपति निर्वाचित भएको एक कार्यकालपछि नै उनी सत्ता केन्द्रबाट स्वेच्छाले बाहिरिए र त्यसपछि सक्रिय राजनीतिमा आपूmलाई अगाडि सारेनन् । उमेरका कारणले समेत उनी पछि सरेर नयाँ पुस्तालाई सहज किसिमले सत्ता हस्तान्तरण गरे । जुन आजको सत्तामुखी विश्व राजनीतिमा अत्यन्तै सराहनीय र प्रसंशनीय मात्रै होइन अत्यन्तै प्रेरणास्पद, अनुकरणीय दुर्लभ कार्य पनि हो ।

अझ अर्को तेस्रो महत्वपूर्ण कुरा उनले सत्ता परिवर्तनपछि बदलाको भावनाले कुनै काम गरेनन् र त्यस्ता कुनै कदमहरू बिल्कुलै चालेनन् । उनको भनाइ एकदमै स्पष्ट थियो कि रंगभेद तथा जातिभेद विरोधी उनको संघर्ष केवल कालाजातिका लागि विजयको कुरा मात्र थिएन, जातिभेदको अन्त्यका लागि त्यो गोरा अल्पसंख्यक जातिका लागि पनि थियो र हो । उनले लडेको लडाइँ कुनै जाति विशेषको मुक्तिका लागि मात्र थिएन मानव जातिबीच फैलिएको, फैलाइएको र अभ्यस्त जस्तै तुल्याइएको विभेद, असमानता र जातीय उत्पीडन तथा असुरक्षाका बिरुद्ध थियो । त्यसैले त्यो सबै जातिको समान हक अधिकार, समुन्नति र सम्मानका निमित्त थियो र हो भन्ने कुरा उनले एकदमै स्पष्ट पारेका थिए ।

हुन पनि नेल्सन मण्डेलाले माक्र्ससवादप्रति आफ्नो बिमति नरहेको र त्यो प्रेरणाको सोत भएको कुरा स्वीकारेका थिए नै । अनि अन्ततः कम्युनिस्ट बनेर उनी संघर्षलाई सही दिशा र अग्रगति दिन तत्पर भएका हुन् भन्ने कुरा स्वयं उनले स्वीकारेको र कसैले विमति जनाएको छैन र थिएन । यसरी बिसौँ शताब्दीको उत्तराद्र्धदेखिको जाति भेद र रंगभेद विरोधी संघर्षमा दृढनिश्चयका साथ दायाँ–बायाँ नगरी लागेका नेल्सन मण्डेलाले स्वाधीनता र स्वतन्त्रतताको त्यो लडाइँको सफल नेतृत्व गरेर विजय हासिल गरे । उनको त्यो विजय केवल दक्षिण अफ्रिकाको मात्र विजय थिएन । त्यसै कारणले समेत विश्वभरिका सरकार र राष्ट्रप्रमुख या तिनका प्रतिनिधिहरू नेल्सन मण्डेलाको ६ डिसेम्बर २०१३ मा देहावसान हुँदा उनलाई अन्तिम श्रद्धाञ्जली दिन दक्षिण अफ्रिका पुगेका थिए र ससम्मान भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न त्यस श्रद्धाञ्जली सभामा प्रत्यक्ष सहभागी बनेका थिए ।

तर, आज दक्षिण अफ्रिकामा दिवंगत मण्डेलाजस्तो अर्को कुनै व्यक्तित्वको निर्माण हुन सकेको छैन र त्यसको अभाव खड्किरहेको छ । यद्यपि दक्षिण अफ्रिका विश्वको विकासशील अर्थतन्त्रमा अगाडि बढेको राष्ट्रको रूपमा खडा ‘ब्रिक्स’ (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको विश्व आर्थिक संगठन)मा पनि आवद्ध र सक्रिय छ । तर, अझै पनि गरिबी, अभाव, बेरोजगारी, अहिलेको विश्व महामारी कोरोना तथा पहिलेदेखिकै एड्स जस्ता भयावह समस्याले त्यो देश निक्कै आक्रान्त छ । भ्रष्टाचार दक्षिण अफ्रिकाको पनि एउटा ठूलो समस्याकै रूपमा रहेको छ । यी समस्याहरूबाट मुक्त हुने दिशा र बाटोमा तीव्र गतिमा अगाडि बढ्न नसकेसम्म दक्षिण अफ्रिकाले नेल्सन मण्डेलाप्रति सार्थक सम्मान प्रकट गरेको र उनीबाट उचित प्रेरणा लिएको पनि ठहरिने छैन ।

अनि अग्रगामी राजनीतिक सुधार र परिवर्तनप्रति पनि सही किसिमले अग्रसर भएको ठहरिने छैन । नेपाल लगायतका विश्वका विभिन्न देशहरूमा जुन किसिमको घोर सत्तालिप्सा, सिद्धान्तहीन, अपारदर्शी र अपवित्र राजनीतिक साँठ–गाँठ हुने गरेको र तुष्टीकरणको निहीत स्वार्थी राजनीति चल्ने चलाइने गरेको छ त्यसबाट बाहिर निस्कन नसकेसम्म नेल्सन मण्डेलाप्रति दर्शाइएको आदर सम्मान र शब्द श्रद्धा केवल एउटा सस्तो पाखण्ड प्रदर्शन मात्र ठहरिने कुरालाई पनि आत्मसात गरिनै पर्दछ । अनि मात्र मण्डेला जस्ता साहसी, क्रान्तिकारी, दृढ निश्चयी र उच्च व्यक्तित्वहरूको प्रशंसा गरेको, गुणगान गाएको र सम्मान गरेको पनि सार्थकता हुन्छ । अन्यथा यो आपूmलाई र अरूलाई पनि ठगठाग गर्ने कर्मकाण्डीय कुराबाहेक किमार्थ अरू केही प्रमाणित हुँदैन ।

को थिए मण्डेला ?
मण्डेला दक्षिण अफ्रिकाको पूर्वी भेगमा बसोवास गर्ने थेम्बु समुदायमा जन्मिएका थिए । जन्मको नाम रोलिह्लला दालिबुंगा भए पनि उनलाई नेल्सन नाम उनका विद्यालय शिक्षकले जुराइदिएका थिए । उनी कानुन अध्ययनका लागि अफ्रिकानेर विट्सवाटेरान्ड विश्वविद्यालयमा भर्ना भए । त्यहाँ उनले सबै रंग र पृष्ठभूमिका मानिसहरूसँग भेटे जहाँ उदार, कट्टरपन्थीका साथै रंगेभदी विचारहरूसँग उनको साक्षात्कार भयो, त्यहीँबाट राजनीतिमा उनको रुचि बढेको हो । त्यही वर्ष उनी अफ्रिकी नेसनल कंग्रेस (एएनसी) सँग आवद्ध भए र पछि अर्को साथीसँगै एएनसी युथ लिग स्थापना गरे ।

मन्डेलाले १९५२ मा आफ्ना साथी ओलिभर टाम्बोसँग मिलेर कानुनी अभ्यास थाले । गोराहरूको दलले लादेको रंगभेदी नीतिविरुद्ध दुवैजनाले संयुक्त रूपमा अभियान थालेका थिए । १९५६ मा अन्य १ सय ५५ जनासहित उनलाई राज्यविरुद्धको अपराध गरेको अभियोग लगाएर चार वर्षको मुद्दापछि अभियोगबाट सफाइ दिइयो । अश्वेत नागरिकहरूलाई काम र बसोवासका लागि निश्चित स्थान तोक्ने खालको कानुन आएपछि रंगभेदविरोधी अभियानले झन् तीव्रता पायो । १९५८ मा उनले विन्नी माडिकिजेलासँग विवाह गरे जसले पछि उनलाई जेलबाट छुटाउने अभियानमा सक्रिय भूमिका निर्वाह गरिन् ।

एएनसीलाई १९६० मा बन्देज लगाइयो र मन्डेला भूमिगत भए । रंगभेदी शासकविरुद्ध त्यसपछि तनाव बढ्दै गयो र ६९ जना मानिसको ज्यान जाने गरी १९६० मा भएको शार्पभिल्ल हत्याकाण्डपछि त्यसले नयाँ उचाइ लियो । उक्त घटनालाई शान्तिपूर्ण प्रतिरोध संघर्षको अन्त्यका रूपमा लिइन्छ र त्यसपछि त्यतिबेला एएनसीका उपाध्यक्षसमेत भइसकेका मण्डेलाले राज्यलाई आर्थिक रूपमा धराशायी बनाउने अभियानको घोषणा गरे । त्यसपछि उनलाई गिरफ्तार गरिएको थियो र सरकार ढाल्न हिंसा र ध्वंसको सहारा लिएको अभियोग लगाइयो । रिभोनियाको अदालतको इजलासको कठघरामा उभिएर बोल्दै गर्दा मण्डेलाले प्रजातन्त्र, स्वतन्त्रता र समानताको पक्षमा आफ्नो दृढ विश्वास व्यक्त गर्थे । उनी भन्थे, ‘सबै मानिसहरू मिलेर बस्ने र समान अवसर पाउने प्रजातान्त्रिक र स्वतन्त्र समाजको आदर्शलाई मैले सधैँ कदर गर्ने गरेको छु, त्यही आदर्श प्राप्तिका लागि म बाँचिरहेको छु र सफलता हात लाग्नेमा म आशावादी छु, यदि आवश्यक प¥यो भने त्यो आदर्शका लागि म मर्न पनि तयार छु ।
सन् १९६४ को जाडोयाममा उनलाई आजीवन कारावास पठाइएको थियो । सन् १९६८ र १९६९ एक वर्षको बीचमा मण्डेलाकी आमाको मृत्यु भएको थियो र उनका जेठा छोराले कार दुर्घटनामा ज्यान गुमाएका थिए । दुवैको अन्तिम संस्कारमा त्यतिबेला भाग लिन उनलाई अनुमति दिइएको थिएन । रब्बेन आइल्यान्डको बन्दीगृहमा १८ वर्ष बिताएपछि उनलाई सन् १९८२ मा मुख्य सहरमा रहेको पोल्समुर जेलमा सारियो । मण्डेला र एएनसीका नेताहरू जेल वा निर्वासनमा रहँदा अश्वेतहरूको मुख्य बसोवास रहेका सहरका युवाहरूले अल्पसंख्यक गोरा शासकहरूको विरुद्धमा संघर्ष जारी राखे । टाम्बोको नेतृत्वमा एएनसीले सन् १९८० मा रंगभेद विरुद्धको अन्तर्राष्ट्रिय अभियान सुरु गरेको थियो । तर, उसले चलाखीपूर्ण रूपमा मण्डेलाको रिहाइलाई आफ्नो मुख्य मुद्दा बनाएको थियो ।

यसले सन् १९८८ मा ब्रिटेनको वेम्बले रंगशालामा आयोजित एउटा सांगीतिक समारोहमा भाग लिएका करिब ७२ हजार सहभागी र त्यसलाई टेलिभिजनमा प्रत्यक्ष रूपमा हेरेका लाखौँ व्यक्तिले नेल्सन मण्डेलालाई रिहा गर भन्दै गीत गाएका थिए । मण्डेलाको पक्षमा अपार जनसमर्थन बढ्दै गएपछि विश्वका नेताहरूले दक्षिण अफ्रिकाको रंगभेदी नीतिविरुद्ध सन् १९६७ देखि सुरु गरिएको नाकाबन्दीलाई कडा बनाउँदै लगे । यस्तो अन्तराष्ट्रिय दबाबले सन् १९९० मा नतिजा निकाल्यो । दक्षिण अफ्रिकाका राष्ट्रपति एफडब्लीिड क्लेर्कले एएनसीविरुद्धको प्रतिबन्ध हटाएको घोषणा गरे । त्यसपछि मण्डेलालाई रिहा गरियो र दक्षिण अफ्रिकामा बहुजातीय सरकार गठन गर्न संवाद सुरु भयो ।

रिहाइको पाँच महिनापछि भएको चुनावमा दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपल्ट सबै जातिहरूले मतदान गरेका थिए, जसमा मण्डेला अत्यधिक समर्थन प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भए । राष्ट्रपतिको रूपमा गरिबहरूको निम्ति आवासको व्यवस्था र झुपडपट्टीले मुख्य सहरहरूमा निम्त्याएको समस्या समाधान गर्नु उनका सबैभन्दा ठूला चुनौती थिए । त्यस सन्दर्भमा उनी बहुराष्ट्रीय कम्पनीहरूलाई दक्षिण अफ्रिकामा नै बसेर लगानी गर्न मनाउन सफल भए । आफ्नो ८०औँ जन्मदिनमा नेल्सन मण्डेलाले मोजाम्बिकका पूर्व राष्ट्रपतिकी बिधुवा ग्रासा माचेलसँग विवाह गरे । राष्ट्रपति पदबाट हटेपछि पनि उनले विश्वका कतिपय देशमा भ्रमणमा गएर विभिन्न सम्मेलनहरूमा भाग लिए र सम्मानहरू समेत ग्रहण गरेका थिए ।

आफ्नो अवकाशपछि मण्डेलाको सार्वजनिक उपस्थिति धेरैजसो उनकै नाममा खोलिएको परोपकारी संस्था मण्डेला फाउन्डेसनले आयोजना गरेका कार्यक्रमहरूमा हुने गथ्र्यो । आफ्नो ८९औँ जन्मदिनमा मण्डेलाले द एलडर्स भनिने विश्वका महत्वपूर्ण व्यक्तिहरूको एउटा समूह स्थापना गरे, जसको उद्देश्य विश्वका केही अति जटिल समस्या समाधान गर्न विशिष्ट सल्लाह र मार्गनिर्देशन दिनुथियो । उनको पछिल्लो महत्वपूर्ण हस्तक्षेपकारी भूमिका उनका छोरा माकगाथोको सन् २००५ मा निधन भएपछि देखिएको थियो । एड्स रोगको माहामारीबारे खुलेर कुरा गर्न मानिसहरूले संकोच मानिरहेका बेला मण्डेलाले उनका छोराको एड्सका कारण मृत्यु भएको घोषणा गरे र दक्षिण अफ्रिकी जनतालाई एड्सबारेमा कुरा गर्न र सामान्य रोग जस्तै देखिने बनाउन आव्हान पनि गरे । उनले सन् २०१० विश्वकप फुटबल दक्षिण अफ्रिकामा आयोजना गराउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए र विश्वकपको समापन समारोहमा समेत उपस्थित भएका थिए । मण्डेलाको अनुहार अंकित नोटहरू नोभेम्बर २०१२ मा प्रयोगमा ल्याइएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय