त्रिभुवन विश्वविद्यालयका ६२ वर्ष

न्हुंछेनारायण श्रेष्ठ

मुलुककै जेठो विश्वविद्यालय त्रिविका शिक्षक र कर्मचारीहरू थुप्रैले ज्यान गुमाइसके । अहिले पनि थुप्रै संक्रमित उपचार गरिरहेका छन् तैपनि सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई खोप उपलब्ध गराउनको लागि कुनै ठोस पहल गर्न सकेको देखिँदैन । केही संकायहरूले अनलाइन कक्षा सुरु गरेका छन् तर अघिल्लो सेमेस्टरकै परीक्षा कसरी गर्ने द्विविधाको अन्त्य हुन सकिरहेको छैन ।

देशको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ६१ वर्ष पूरा गरी यही साउन ३ बाट ६२ वर्षमा प्रवेश गरेको छ । यतिखेर विश्व नै कोभिडका कारण आक्रान्त भइरहेको बेला त्रिभुवन विश्वविद्यालय मात्र अछुतो रहने कुरा भएन् । कोभिड सुरु भए यता त्रिविले जे जति गर्नुपथ्र्यो त्यो गर्न सकेन । अहिलेसम्म भए गरेका काममै चित्त बुझाउनुपर्ने अवस्था आएको देखिन्छ । शिक्षा क्षेत्रकै अग्रणी संस्थाका रूपमा रहेको त्रिविले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सबल र सशक्त भूमिका खेलेको हामी पाउँछौँ ।

नेपालमा ११ वटा विश्वविद्यालयहरू, चार वटा प्रतिष्ठान स्थापना भएता पनि उच्चशिक्षामा करिब ८० प्रतिशत भार बोक्ने मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको स्थापना ०१६ सालमा भएको हो । त्रिविमा चार वटा अनुसन्धान केन्द्र, चार वटा संकाय र पाँच वटा अध्ययन संस्थानहरू रहेका छन् । त्रिवि ऐन २०४९ बमोजिम नेपाल सरकारले केन्द्रीय विश्वविद्यालयको रूपमा मान्यता प्रदान गरेको संस्था त्रिविविले आफ्नो ६२औँ वार्षिक दिवस कोरोनाका कारण कोरोनाको पूर्वसावधानी अपनाएर सीमित कार्यक्रम गरी मनाउनुलाई सकारात्मक रूपमा लिनुपर्दछ । विभिन्न आरोहअवरोह पार गर्दै, विभिन्न कालखण्डहरू पार गर्दै त्रिविले नेपाल र नेपालीको इच्छा, चाहनालाई समेट्दै नेपालीहरूका सपना साकार पार्नका लागि शिक्षा क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको छ । यस कार्यलाई त्रिविले नेपालमा उत्पादित दक्ष जनशक्तिहरूलाई स्वदेशमै रोजगारको समेत अवसर सिर्जना गरेको पाइन्छ । शिक्षा क्षेत्रमा देखिएका विकृति, विसंगतिहरूलाई छटाउँदै संविधान प्रदत शिक्षासम्बन्धी हकलाई कार्यान्वयन गराउनसमेत त्रिवि अग्रसर भएको देखिन्छ ।
अन्तर्राष्ट्रिय जगतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल तथा विश्वका ठूला विश्वविद्यालयहरू मध्येको एक त्रिविविले पछिल्लो समय शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गर्नु राष्ट्रकै गौरबको विषय पनि हो । शिक्षा जगतमा समयानुकूल परिवर्तन गर्दै आमनागरिकहरूलाई शिक्षित बनाउने मूल ध्येय बोक्दै शिक्षामा गुणस्तरीय, बैज्ञानिकीकरण गर्दै जाने अठोटका साथ उभिएको संस्था रहेकैले त्रिविविमा विद्यार्थीहरूको चाप बढ्नुलाई सकारात्मक मान्न सकिन्छ ।

सन् २००४ देखि विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको तह निर्धारण गर्दै आइरहेको बेलायतको टाइम्स हायर एजुकेसन संस्थाले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रिवि उत्कृष्ट एक हजार विश्वविद्यालयहरू मध्येको एकमा सूचीकृत हुनु गौरवको बिषय मान्न सकिन्छ । यो सफलता सँगसँगै त्रिविले शिक्षाको गुणस्तर, वैज्ञानिकीकरण शिक्षा, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि ठोस पहल गर्दै शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको देखिन्छ ।

अहिलेको प्रमुख चुनौती भनेको कोभिडसँग जुध्दै शिक्षा क्षेत्रमा फड्को मार्ने हो अर्कातर्फ त्रिविबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु चुनौतीपूर्ण कार्य रहेको छ । नेपालको संविधानले शिक्षा र रोजगारलाई मौलिक हकको रूपमा सुनिश्चितता प्रदान गरेको वर्तमान अवस्थामा शिक्षा क्षेत्रलाई राजनीतिक पहुँच र खिचातानीबाट टाढा राख्दै उच्च शिक्षा क्षेत्रमा वैज्ञानिकीकरण र समयसापेक्ष परिमार्जन गर्दै अघि बढउँदै उत्पादित जनशक्तिलाई रोजगारीको व्यवस्था स्वदेशमै निर्माण गर्नुपर्ने चुनौती त्रिविसमक्ष थपिएको छ । त्रिविले प्रदान गर्ने शैक्षिक उपाधीलाई विश्वका अन्य विश्वविद्यालयहरूले समेत समकक्षता प्रदान गर्दै आइरहेको छ । त्रिवि दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालयको रूपमा रहेको छ । त्रिविले समयानुकूल शिक्षा प्रदान गर्दै समग्रमा देश विकासका लागि आफ्नो दक्षता, सीप प्रस्तुत गरेकै कारण त्रिविबाट दीक्षित हुनेहरूको संख्या बर्सेनि बढ्ढै गइरहेको छ । दीक्षितहरूले गरेको अध्ययन, अनुसन्धानलाई राज्यले उचित स्थान दिनुपर्ने आवश्यकता रहेको देखिन्छ ।

शिक्षा क्षेत्रमा सुधारका लागि कोभिड–१९ महामारीका कारण बन्दाबन्दी, त्यसपछिको निषेधाज्ञा, त्यसपछि हालसम्म पनि त्रिविमा कार्यरत शिक्षक तथा कर्मचारीहरू कोभिडका कारण ग्रसित भएका छन् । कोभिड–१९ को महामारीका कारण विश्वविद्यालयहरूका सम्पूर्ण शैक्षिक कार्यक्रमहरू पठनपाठन, परीक्षा, अनुसन्धान सबै नै अवरोध हुन गई शैक्षिक सत्र नै खेर जाने स्थितिलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गरी शैक्षिक क्यालेन्डर बिग्रन नदिनुलाई सकारात्मक मान्नुपर्दछ । त्रिवि सुधारका लागि अघि बढाइएका योजनामा केन्द्रीकृत भई त्रिविको भौतिक पूर्वाधारमा सुधार, प्रविधि मैत्री विश्वविद्यालय, प्राध्यापकहरूको क्षमता अभिवृद्घि, क्याम्पसहरूको प्रभावकारी नियमन, सरकार तथा उपभोक्ताहरूसँग समन्वय गरी पाठ्यक्रम परिमार्जन, त्रिविलाई अन्तर्राष्ट्रियकरण गर्दै जाने, कानुनी रूपमा सवल त्रिवि, निश्चित शैक्षिक पात्रो, परीक्षा प्रणालीमा सुधार, बजारमुखी स्वरोजगारमूलक जनशक्ति उत्पादन, अनुसन्धान कार्यलाई प्राथमिकता त्रिवि अल्यूमुनाइलाई विश्वविद्यालयको हितमा प्रयोग गर्ने, विद्यार्थी वर्गका लागि क्याम्पसमा खेलकुदको समुचित व्यवस्था तथा सम्बन्धन प्राप्त कलेजहरूमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था र सुशासनमा जोड जस्ता कार्यमा त्रिविले कोही कसैसँग सम्झौता नगरी अघि बढ्ने प्रण गर्नुपर्ने आवश्यकता रहेको छ ।

त्यस्तैगरी त्रिविले उच्च शिक्षामा सबैको समान पहुँच पुगोस् भन्ने उद्देश्यका साथ नेपालमा खुला तथा दूर शिक्षा कार्यक्रमलाई महत्वका साथ लागू गरिसकेको छ । त्रिविको प्रगति उन्नतिका लागि शिक्षक, कर्मचारी र विद्यार्थी वर्गको महत्वपूर्ण भूमिका रहन्छ । अतः त्रिविमा देखिएका विकृति, विसंगति हटाउनका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको छ । देश संघीयतामा गइसकेपछि नेपाल सरकारले सात वटै प्रदेशमा विश्वविद्यालयको स्थापना गरिसकेको छ । त्रिविले आफ्ना आंगिक र सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र पारदर्शी बनाउँदै अघि बढेकै कारण त्रिविमा अध्ययन गर्नेहरूको चाप अझै घट्न सकिरहेको छैन । नेपाल सरकारको समृद्घि र विकासलाई सार्थकता तुल्याउन समेत त्रिविको भूमिका महत्वपूर्ण हुनु आवश्यक रहेको छ ।

त्रिविमा समयसमयमा विभिन्न राजनीतिक दल तथा संगठनहरूले विभिन्न मागहरू राखी गरिने बन्द, हड्तालका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित भई शैक्षिक क्यालेन्डरसमेत प्रभावित हुन गई दुई वर्षे कोर्सलाई तीन वर्ष लाग्ने गरेको कटु यथार्थ छिप्न सक्दैन । गुणस्तरीय शिक्षा र शिक्षामा वैज्ञानिकीकरण गर्ने र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्ने प्रतिवद्घताहरू सरकार र राजनीतिक दलहरूले गरेको वर्षांै भइसक्दा पनि कार्यान्वयन हुन सकिरहेको छैन । अर्कातर्फ विश्वविद्यालयमा राजनीतिक भागबण्डाको आधारमा राजनीतिक नियुक्ति हुने गलत परम्पराको अन्त्य हुन सकिरहेको छैन ।

त्रिविले अबका दिनहरूमा आफ्ना पाइलाहरू शैक्षिक गतिविधिमा केन्द्रित गर्दै त्रिविमा हुने गरिएको राजनीतिक नियुक्ति अन्त्य गर्दै योग्य र वरिष्ठताक्रमअनुसार नियुक्ति गर्नुपर्ने आवश्यकता रहेको छ । त्रिविले अन्तर्राष्ट्रिय परिवेश अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको विकास, विस्तार गर्दै अघि बढ्नुपर्दछ । त्रिविमा हुने गरिएको राजनीतिक नियुक्ति, सरुवा, बढुवालाई अन्त्य गर्दै योग्यता र क्षमतालाई प्राथमिकता दिँदै शिक्षामा ब्यापक सुधार गर्दै त्रिवि अगाडि बढ्न सक्नुपर्दछ ।

हामो देशमा रहेका विश्वविद्यालयहरू देशमा कोभिडका समयमा कसरी अगाडि बढ्ने भन्ने रणनीति बुन्नमै व्यस्त रहेको देखिन्छ । विश्वविद्यालयहरूको मुख्य उद्देश्य खोज र अनुसन्धान भएता पनि महामारीका बेला अत्यावश्यक सामग्रीहरू निर्माण, जनचेतना, रोग उत्पन्नका कारण लगायतको विषयहरूमा खोइ अध्ययन अनुसन्धान गरेको ? मुलुककै जेठो विश्वविद्यालय त्रिविका शिक्षक र कर्मचारीहरू थुप्रैले ज्यान गुमाइसके । अहिले पनि थुप्रै संक्रमित उपचार गरिरहेका छन् तर पनि सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई खोप उपलब्ध गराउनका लागि कुनै ठोस पहल गर्न सकेको देखिँदैन । केही संकायहरूले अनलाइन कक्षा सुरु गरेका छन् तर अघिल्लो सेमेस्टरकै परीक्षा कसरी गर्ने द्विविधाको अन्त्य हुन सकिरहेको छैन । त्रिवि, पनिकाले रोकिएको परीक्षालाई भौतिक उपस्थितिमा कोभिडका पूर्व तयारीका साथ गर्ने सूचना जानकारी दिएको छ भने इन्जिनियरिङ अध्ययन संस्थानले रोकिएको परीक्षा सञ्चालन गरिसकेको छ । कोभिडको जोखिम कायमै रहेता पनि परीक्षा सञ्चालन हुनु सकारात्मक मान्न सकिन्छ ।
महामारीका बेला विश्वविद्यालयहरूलाई नेपाल सरकारले चलायमान गर्नुपथ्र्यो तर त्यसको उल्टो शैक्षिक संस्थाहरू बन्द गराएर खोज, अनुसन्धानको बाटो बन्द गरेको देखिन्छ ।

सीमित शिक्षक, कर्मचारीहरू राखेर विश्वविद्यालयहरूका कैयन समस्याहरू जस्तै रेकर्डिङ सिस्टम, परीक्षा प्रणाली, जग्गा, भवन, भौतिक सम्पतिहरूको तथ्यांक, आर्थिक क्षेत्रअन्तर्गत बेरुजु, पेस्की लगायतको विवरण अद्यावधिक, शिक्षक, कर्मचारीहरूको लगत कम्प्युटराइज्ड प्रणालीमा राख्न सकिन्थ्यो यसतर्फ विश्वविद्यालयका पदाधिकारीहरूको ध्यान गएको देखिँदैन । अहिले पनि कतिपय शैक्षिक संस्थाहरूमा कम्प्युटराइज्ड सिस्टम प्रयोग गर्न सकिएको छैन् । कोभिडलगायत प्राकृतिक प्रकोपको समयमा विश्वविद्यालयहरूले के गर्ने, के नगर्ने, के कसो गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धान गर्नु अपरिहार्य रहेको देख्न सकिन्छ ।

अहिलेको अवस्थामा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानलाई कोभिड रोकथामका लागि अध्ययन अनुसन्धान केन्द्र बनाउन सकिन्थ्यो भने इन्जिनियरिङ अध्ययन संस्थानलाई प्राविधक जनशक्ति केन्द्रको रूपमा स्थापित गर्नुपर्दथ्यो । किनकी कोभिडका बेला आवश्यक पर्ने बेड, उपकरण लगायतका सामग्रीहरू निर्माणका लागि इ.अ.सं.ले खोज, अध्ययन अनुसन्धान गर्न सक्थ्यो । त्यस्तै गरी सेनिटाइजर लगायतका सामग्रीहरू नेपालमै उत्पादन गर्न सकिन्थ्यो यसतर्फ त्रिवि र नेपाल सरकारको खासै ध्यान जान सकेको देखिँदैन यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया