ओली होसमा आउनु जरुरी

०७४ फागुुन ३ गते प्रतिनिधिसभाको १ सय ७४ सदस्यका साथ सहयोगमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई आइतबार जम्मा ८३ जना सांसदहरूले साथ दिए । यसअघि गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदा प्रधानमन्त्री ओलीले ९३ जनाको साथ पाएका थिए । १ सय ७४ बाट घटेर ९३ मा झर्दा पनि प्रधानमन्त्री ओलीले गल्ती महसुस गरेका थिएनन् । अब ९३ बाट पनि घटेर ८३ सिटमा झर्दा पनि गल्ती महसुस नगर्ने हो भने ओलीको पतन टाढा छैन । गत आमनिर्वाचनमा २ सय ७५ मध्ये जम्मा ६३ सिटमा खुम्चेको पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा संसद्बाट १ सय ६५ मत प्राप्त गर्दै गर्दा त्यतिबेला १ सय ७४ सिट हासिल गरेका नेता ओली ८३ सिटमा खुम्चनु सामान्य घटना होइन । आफ्नो विकल्पमा अर्को बहुमतको सरकार गठन गर्न सक्दैन भन्दै दुई÷दुई पटकसम्म ओलीले विघटनको प्रयास गरेको प्रतिनिधिसभाबाट नवनियुक्त प्रधानमन्त्री देउवाले दुईतिहाइ बहुमत हासिल गर्नु सामान्य घटना होइन । विश्वासको मत लिन सक्ने आधार नदेखिएको जिकीर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अस्वीकृत भएका देउवाले प्रधानमन्त्रीका रूपमा प्रतिनिधिसभाबाट दुईतिहाइ बहुमत हासिल गर्नुलाई पनि सामान्य सन्देशका रूपमा लिन मिल्दैन ।

आइतबार प्रतिनिधिसभामा भएको मतदानको परिणाम भनेको एमालेका अध्यक्ष ओलीका लागि गल्ती सुधार गर्ने महत्वपूर्ण सन्देश हो । नेकपा एमालेका १ सय २१ मध्ये अध्यक्ष ओलीको पक्षमा ८३ जना उभिए । विपक्षमा ३८ जना उभिए । ओलीको विपक्षमा ४० प्रतिशत स्पष्ट देखियो । केन्द्रीय समितिमा त ओलीको विपक्षमा स्पष्ट ४५ प्रतिशत छ । आफ्नो विपक्षमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुगेको अवस्थामा एमाले अध्यक्ष ओलीका लागि अब चलखेल गर्ने थप ठाउँ छैन । अध्यक्ष ओलीले थप चलखेल गर्न थालेको अवस्थामा राष्ट्रपति भण्डारीको समेत पद धरापमा पर्ने स्पष्ट संकेत देखिइसक्यो । पार्टीभित्र सम्मानित ठाउँ नपाउने, यसरी नै लखेटिइरहने हो भने माधव नेपाल पक्ष ४० प्रतिशत सांसद लिएर छुट्टै पार्टीका रूपमा अस्तित्वमा आउन बाध्य हुन्छ । तर नेपाल पक्ष सकेसम्म यो निर्णय गर्न नपरोस् भन्ने अभियानमा रहेको सन्देश पनि आइतबार प्रतिनिधिसभामा भएको मतदानले दिएको छ । नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्नु ओलीका लागि अझै पनि गल्ती सच्याउने अवसर हो ।

आफ्ना अत्यन्त निकट मानिएका किसान श्रेष्ठलगायत चार जनाले अचानक देउवालाई विश्वासको मत दिनुको संकेत र सन्देश एमालेका अध्यक्ष ओलीले बुझेकै हुनुपर्छ । किसान श्रेष्ठका अब्बल जोडी महेश बस्नेतले दुई महिनाअघि भक्तपुरको एक रिसोर्टमा मधेसीदलका सांसदहरूका लागि गरेको खर्चका सन्दर्भमा पनि एमालेका अध्यक्ष ओली अब होसमा आउनु जरुरी छ । पशु र मान्छेमा मुख्य भिन्नता दुई वटा छन् । पशुले आफ“ै खाडलमा परेपछि मात्रै चेत्छ, तर मान्छेले अरू खाडलमा परेको देखेर, सुनेर पनि चेत्छ । विगतमा नेपाली कांग्रेसमा विग्रह आउँदा कुन कुन शक्ति केन्द्रबाट के कस्ता खेतालाहरू प्रयोग भएका थिए ? भन्ने हेक्का ओलीले राख्न सक्नुपथ्र्यो । त्यतिबेला सभापति कृष्णप्रसाद भट्टराईलाई उक्साउने मुख्यपात्र कुवेर शर्मा र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई उक्साउने मुख्य पात्र मोहन चापागार्इंले काम फत्ते भएपछि आआफ्नो मूलबाटो तय गरेको घटनालाई यतिबेला एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री ओलीले पाठका रूपमा लिनुपथ्र्यो । समकालीन राजनीतिमा ओली सबैभन्दा चुतर नेता हुन् भन्ने सुनिएको थियो, तर उनी जति टाठा छन् त्यति बाठा भने रहनेछन् भन्ने पुष्टि भयो । एमाले विभाजन गर्न उक्साउनेहरूको फन्दामा आपूm परेको रहेछु भन्ने यथार्थतालाई आत्मसात गर्दै पूर्ण होसमा आउन एमाले अध्यक्ष ओलीले कत्ति पनि ढिलाइ नगरुन् ।

प्रतिक्रिया